हिमालयन बैंकको नाफामा २२ प्रतिशत वृद्धि

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार

हिमालयन बैंकले आर्थिक वर्ष २०८१/८२ मा २२.१५ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ। मंगलबार सार्वजनिक चौथो त्रैमासिक वित्तीय विवरण अनुसार, बैंकले गत आवमा १ अर्ब ५१ करोड २५ लाख रुपैयाँ नाफा कमाएको हो। अघिल्लो वर्ष यस बैंकको नाफा १ अर्ब २३ करोड ८३ लाख रुपैयाँ थियो।

नाफा वृद्धि भए पनि बैंकको खुद ब्याज आम्दानी ९.९९ प्रतिशत घटेर १० अर्ब ४५ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ। यता, संचालन नाफा भने ८८.४१ प्रतिशत बढ्दै ५ अर्ब ४३ करोड ६४ लाख रुपैयाँ पुगेको छ। इम्पेयरमेन्ट चार्ज अघिल्लो आवको ५ अर्ब २६ करोड रुपैयाँबाट घटेर १ अर्ब ५३ करोड ५० लाख रुपैयाँमा झरेको छ, जसले नाफा वृद्धिमा योगदान पुर्‍याएको हो।

तर, बैंकको वितरणयोग्य नाफा ७ अर्ब १० करोड १५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। यस वर्ष पनि बैंक लाभांश वितरण गर्ने अवस्थामा छैन, जसको लाभांश क्षमता ३२.७९ प्रतिशत ऋणात्मक छ। अघिल्लो आवमा पनि बैंकले लाभांश बाँड्न सकेको थिएन।

गत आवमा बैंकको खराब कर्जा अनुपात ४.९८ प्रतिशतबाट बढेर ७.२८ प्रतिशतमा पुगेको छ। यद्यपि, प्रतिसेयर आम्दानी (EPS) बढेर ६.९८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७५.०७ रुपैयाँ कायम भएको छ।

हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ छ भने जगेडा तथा कोषमा १६ अर्ब २५ करोड ८४ लाख रुपैयाँ रहेको छ। बैंकको निक्षेप ५.१९ प्रतिशत बढेर ३ खर्ब ९ अर्ब १५ करोड ८६ लाख रुपैयाँ पुगेको छ। कर्जा लगानी भने १.१४ प्रतिशत मात्र बढ्दै २ खर्ब ३२ अर्ब ८५ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ।

  • Clock icon
    २०८२ श्रावण २७, मंगलवार