घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आफ्नो वित्तीय अवस्थामा सुधार गर्दै नोक्सानी उल्लेखनीय रूपमा घटाएको छ। कम्पनीले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को चौंथो त्रैमासिक विवरण अनुसार, अघिल्लो आवको तुलनामा घाटा करिब दुईतिहाइले घटेको छ।
गत आवमा कम्पनीको कुल नोक्सानी ६६ करोड ३ लाख रुपैयाँमा झरेको हो, जुन अघिल्लो आवमा १ अर्ब ४४ करोड ७० लाख रुपैयाँ थियो। यस सुधारको प्रमुख कारण व्यापार विस्तार र संचालन नाफामा आएको वृद्धि हो।
कम्पनीले गत आवमा ५ अर्ब ५ करोड ८ लाख रुपैयाँको व्यापार गरेको छ, जुन अघिल्लो आवको ४ अर्ब ४७ करोड ७९ लाख रुपैयाँको तुलनामा १२.७९ प्रतिशत बढी हो। बिक्री वृद्धिसँगै अघिल्लो आवमा ऋणात्मक ४७ करोड ४३ लाख रुपैयाँ रहेको संचालन नाफा यसपटक ९ करोड ९ लाख रुपैयाँ धनात्मकमा पुगेको छ।
कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ४ करोड १२ लाख रुपैयाँ संचित छ। हाल प्रतिसेयर आम्दानी (EPS) १४.४६ रुपैयाँ ऋणात्मक भए पनि प्रतिसेयर नेटवर्थ १८८.४७ रुपैयाँ कायम भएको कम्पनीले जनाएको छ।