प्रधानमन्त्री केपी शर्मा ओलीले आज रासायनिक मलको सहज आपूर्ति र खेतीपातीको अवस्थाबारे उच्चस्तरीय छलफल गरेका छन्। बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी, सचिव डा. गोविन्दप्रसाद शर्मा तथा कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारी उपस्थित थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकमा किसानलाई आवश्यक मलको पर्याप्त मौज्दात रहे पनि समयमा वितरण नहुँदा आएको गुनासोबारे विस्तृत रुपमा समीक्षा गरिएको छ।
बैठकमा प्रधानमन्त्री ओलीले खेतीपातीको मुख्य समय नआउनु अघि नै मलको अभाव नहुने व्यवस्था गर्न स्पष्ट निर्देशन दिएका छन्। साथै, नेपालमै रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न र प्राङ्गारिक मलको उत्पादन तथा प्रयोग बढाउने दीर्घकालीन योजना ल्याउन सम्बन्धित निकायलाई आह्वान गरेका छन्।
यसअघि पनि मल आपूर्ति समस्या किसानका मुख्य चिन्तामध्ये एक रहँदै आएको छ, जसको दीर्घकालीन समाधानका लागि सरकार सक्रिय भएको संकेत प्रधानमन्त्रीको यो कदमबाट देखिएको छ।