प्रभू बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा नाफामा ऐतिहासिक सुधार गरेको छ। बुधवार सार्वजनिक गरिएको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार, बैंकको खुद नाफा ५ अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९६५.४१ प्रतिशत अर्थात् १०.६५ गुणा बढी हो। अघिल्लो आवमा बैंकको नाफा केवल ५० करोड ९९ लाख रुपैयाँको हाराहारीमा थियो।
गत आवमा बैंकले ७ अर्ब १९ करोड ७८ लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, तर यो अघिल्लो वर्षको तुलनामा ३९.४७ प्रतिशत घटेको हो। यसै अवधिमा संचालन नाफा भने ९९.४५ प्रतिशत बढेर ६ अर्ब २८ करोड २७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ३ अर्ब १५ करोड रुपैयाँ मात्र थियो।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ रहेको छ, जसका आधारमा यस वर्ष ४.४४ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता रहेको छ। अघिल्लो वर्षको वितरणयोग्य नाफा ऋणात्मक थियो।
प्रतिसेयर आम्दानी (EPS) २३.१२ रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको २.१७ रुपैयाँभन्दा धेरै उच्च हो। प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ कायम भएको छ। तर, बैंकको खराब कर्जा ४.९६ प्रतिशत पुगेको छ।
व्यवसायिक सूचकांकमा पनि वृद्धि भएको छ। निक्षेप संकलन १२.१९ प्रतिशत बढेर ३ खर्ब ४२ अर्ब १८ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ४.२२ प्रतिशत बढ्दै २ खर्ब ३० अर्ब ३७ करोड २ लाख रुपैयाँमा पुगेको छ।
हाल बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ छ भने जगेडा कोषमा १४ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ संचित छ।