नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा अभूतपूर्व वित्तीय प्रदर्शन गरेको छ। बिहीबार सार्वजनिक गरिएको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार, बैंकको नाफा एकै वर्षमा १३२ गुणा बढेर ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले मात्र २ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो।
विवरण अनुसार, बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशतले बढेर १० अर्ब ८ करोड ७१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन नाफा ६९२.४३ प्रतिशतले वृद्धि भई ५ अर्ब ४१ करोड ५८ लाख ८६ हजार रुपैयाँ कायम भएको छ। इम्पेयरमेन्ट चार्ज पनि अघिल्लो वर्षको ४ अर्ब ७५ करोड ५२ लाख रुपैयाँबाट घटेर १ अर्ब १३ करोड ५५ लाख रुपैयाँमा झरेको छ, जसले नाफामा ठूलो योगदान पुर्याएको छ।
यद्यपि, अप्रत्याशित नाफा भए पनि बैंकको वितरणयोग्य नाफा ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहेको छ। हाल बैंकको प्रतिसेयर आम्दानी (EPS) २५.६८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २५९.८१ रुपैयाँ कायम भएको छ।
बैंकको खराब कर्जा अघिल्लो वर्षको ४.३३ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ। हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ छ भने जगेडा कोष २३ अर्ब ४८ करोड २९ लाख रुपैयाँ रहेको छ।
व्यवसाय विस्तारमा पनि बैंक सक्रिय देखिएको छ। बैंकको निक्षेप संकलन १७.२९ प्रतिशतले बढेर ३ खर्ब ३२ अर्ब २ करोड १० लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी १३.८९ प्रतिशतले वृद्धि भई २ खर्ब २१ अर्ब ७० करोड ३४ लाख रुपैयाँमा पुगेको छ।