लक्ष्मी सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ११ करोड ६९ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाउँदै उल्लेखनीय वित्तीय उछाल देखाएको छ। बिहीबार सार्वजनिक गरिएको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार, अघिल्लो आवको २ अर्ब ९२ करोड ३ लाख ७९ हजार रुपैयाँ नाफाको तुलनामा यो ४०.९७ प्रतिशतले बढी हो।
गत आवमा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ३७ करोड ६३ लाख ८९ हजार रुपैयाँ रह्यो, जुन अघिल्लो वर्षको तुलनामा ७.९९ प्रतिशतले कम हो। तर, सञ्चालन नाफा भने ३८.५५ प्रतिशत बढेर ६ अर्ब ९ करोड ८९ लाख ५७ हजार रुपैयाँ पुगेको छ। खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब १८ करोड ८६ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी १४ अर्ब ६८ करोड ४६ लाख रुपैयाँ कायम भएको छ।
बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५३ लाख रुपैयाँ रहेको छ, जसका आधारमा यस वर्ष सेयरधनीलाई १३.३४ प्रतिशत लाभांश दिन सक्ने अवस्था छ। अघिल्लो आवमा वितरणयोग्य नाफा १ अर्ब २४ करोड १६ लाख रुपैयाँ मात्र थियो।
खराब कर्जा अनुपात अघिल्लो वर्षको ४.६३ प्रतिशतबाट घटेर ४.२५ प्रतिशतमा झरेको छ। हाल बैंकको प्रतिसेयर आम्दानी (EPS) १६.९१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८६.६३ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा वृद्धि हो।
बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ र जगेडा तथा कोष १८ अर्ब ८ करोड ७१ लाख रुपैयाँ रहेको छ। व्यवसाय विस्तारमा पनि बैंक सक्रिय रहँदै आएको छ—निक्षेप संकलन ११.५९ प्रतिशत बढेर ३ खर्ब ६७ अर्ब ५ करोड रुपैयाँ र कर्जा प्रवाह ११.१७ प्रतिशत वृद्धि भई २ खर्ब ७५ अर्ब १ लाख रुपैयाँ पुगेको छ।