निर्माण क्षेत्रको मेरुदण्ड मानिने नेपाली स्टिल उद्योग सन् २०२४ मा गम्भीर व्यापारिक मन्दीको चपेटामा परेको छ। १६ वटा प्रमुख स्टिल उद्योगको तथ्याङ्क अनुसार कुल व्यापार अघिल्लो वर्षको तुलनामा १८.८४ प्रतिशत घटेको छ। सन् २०२३ मा यी उद्योगहरूले १ खर्ब ५ अर्ब ६३ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए भने २०२४ मा यो घटेर ८५ अर्ब ७२ करोड ९० लाख रुपैयाँमा सीमित भएको हो।
उद्योगपतिको भनाइमा निर्माण क्षेत्रमा आएको सुस्तता, विदेशी स्टिलको आक्रामक आयात, मूल्य प्रतिस्पर्धा, र सरकारी नीतिमा स्पष्टताको अभावले व्यापार खस्काएको हो। निजी तथा सरकारी ठूला पूर्वाधार आयोजनाहरू स्थगित हुँदा माग घटेको छ भने सस्तो विदेशी स्टिलको सहज पहुँचले घरेलु बजार थप साँघुरो बनेको छ।
अग्रणी कम्पनीहरू मध्ये जगदम्बा स्टिल्सले सबैभन्दा ठूलो बजार हिस्सा (३४.६७%) ओगट्दै २९ अर्ब ७२ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ, तर अघिल्लो वर्षको तुलनामा यसको कारोबार २४.६१ प्रतिशत घटेको छ। अम्बे स्टिल्सले ८ अर्ब ५ करोड ९० लाख रुपैयाँको व्यापार गर्दै ९.४ प्रतिशत बजार हिस्सा लिएको छ, जसमा ३.४६ प्रतिशतको गिरावट देखिएको छ। लक्ष्मी स्टिल्सले ८ अर्ब ५ करोड ३० लाख रुपैयाँको व्यापार गर्दै ९.३९ प्रतिशतको हिस्सा ओगटेको छ, तर १४.७३ प्रतिशत गिरावट भएको छ। यस्तै, गोदावरी स्टिल्सले ६ अर्ब ४० करोड ६० लाख रुपैयाँको व्यापार गर्दै ७.४७ प्रतिशत हिस्सा लिएको छ र १.६७ प्रतिशतको वृद्धि गरेको छ।
ठूला गिरावट भोग्ने कम्पनीहरूमा पञ्चकन्या स्टिल (२५.६१%), श्री स्टिल्स (२८.९%), अशोक स्टिल (४६.१७%), गोयन्का स्टिल्स (६४.८४%) र सिद्धि लक्ष्मी स्टिल्स (७९.५४%) रहेका छन्। यसमा सिद्धि लक्ष्मी स्टिल्स सबैभन्दा ठूलो गिरावट बेहोरेको हो।
१६ मध्ये चार कम्पनीको व्यापारमा वृद्धि भएको छ। स्टिल उड नेपालले ६२.३३ प्रतिशत, विजयश्री स्टिलले ५७.७२ प्रतिशत, प्रिमियर स्टिलले १२.१५ प्रतिशत र गोदावरी स्टिल्सले १.६७ प्रतिशतले व्यापार बढाएका छन्।