सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीको नाफा दोहोरो अंकले बढेको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–८२ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार, कम्पनीले यस वर्ष ३५ करोड ३ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १०.१३ प्रतिशतले बढी हो। अघिल्लो आवमा कम्पनीले ३१ करोड ८१ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
वित्तीय विवरणअनुसार, कम्पनीको खुद बीमा शुल्क ८.९९ प्रतिशतले बढेर ७८ करोड ७४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो रकम ७२ करोड २५ लाख रुपैयाँ थियो। कमिसन आम्दानी ३९ करोड ३५ लाख रुपैयाँ रहेको छ भने लगानी तथा कर्जाबाट १७ करोड १ लाख रुपैयाँ आम्दानी भएको छ।
गत वर्ष कम्पनीको कुल आम्दानी २.७१ प्रतिशत वृद्धि भई १ अर्ब ४७ करोड ६८ लाख ७३ हजार रुपैयाँ पुगेको छ। यसै अवधिमा कुल खर्च २.०५ प्रतिशतले घटेर ९७ करोड ६३ लाख १७ हजार रुपैयाँमा सीमित भएको छ। खुद दावी भुक्तानी ३८ करोड ७० लाख रुपैयाँ रहेको छ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ छ। विशेष जगेडा कोषमा ७५ करोड ९८ लाख रुपैयाँ र महाविपत्ति कोषमा ४ करोड ६४ लाख रुपैयाँ राखिएको छ। कम्पनीको प्रतिसेयर आम्दानी १६.३० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५२.१२ रुपैयाँ रहेको छ।
वित्तीय सूचकहरूका आधारमा कम्पनीले विगतको तुलनामा नाफा, आम्दानी र बीमा शुल्कमा उल्लेखनीय सुधार देखाएको छ, जसले आगामी वर्षमा पनि स्थिर वृद्धिको सम्भावना देखाएको छ।