‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ प्रधानमन्त्री ओलीको उद्घाटनमा सुरु

  • Clock icon
    २०८२ श्रावण ३०, शुक्रबार

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२५ इन एशोशिएसन विथ टिङटिङ र पावर्ड बाई रेनड्रप’ आज ललितपुरको पुलचोकस्थित द प्जालामा सुरु भएको छ। कार्यक्रमको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट पानस बाल्दै गरेका हुन्।

प्रधानमन्त्री ओली प्रमुख अतिथि रहेका कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङ विशेष अतिथि रहेको छ। यसबाहेक नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारी, नास्टका उपकुलपति दिलिप सुब्बा, मुख्यसचिव एक नारायण अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठसहित सरकारी तथा निजी क्षेत्रका ५०० बढी उच्च पदस्थ व्यक्तिहरू सहभागी छन्।

आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले स्वागत मन्तव्य दिँदै चार वर्षदेखि डिजिटल नेपाल कन्क्लेभ आयोजना गर्दै आएको जानकारी दिएका छन्। उनले आइसिटी क्षेत्रमा निजी क्षेत्रको योगदान उच्च रहेको र सरकारले पनि नीतिगत सुधार र कार्ययोजनामा जोड दिनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले आफ्नो पावर संवादमा नेपाल प्रविधि विकासमा आत्मनिर्भर बन्नुपर्ने र प्रविधि दिने र विकास गर्ने दुवै पक्षमा ध्यान दिनुपर्ने उल्लेख गरे।

कन्क्लेभमा डिजिटल गभर्नेन्स, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर, डिजिटल स्वास्थ, डिजिटल इकोनोमी, आइसिटी उद्योग लगायतका विषयमा ८ बढी सेसन सञ्चालन हुँदैछन्। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पावर प्यानलिष्टको रूपमा सहभागी छन्।

विश्वकै प्रतिष्ठित प्रविधि कम्पनी गूगलले पनि कार्यक्रममा सहभागिता जनाएको छ र गूगल स्ट्रिट भ्यू सार्वजनिक गरेको छ। यस वर्ष शोधपत्र प्रस्तुतीको अवसर पनि प्रदान गरिएको छ भने १५ भन्दा बढी डिजिटल इनिसिएटिभ्स (प्रडक्ट) शोकेसमा राखिएका छन्।

कार्यक्रम सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ई-गभर्नेन्स बोर्ड, नेपाल दूरसञ्चार प्राधिकरण, गूगल, नेपाल टेलिकम, एनसेल, निमा एजुकेसन फाउन्डेसन, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, ईसेवा, खल्ती, माभोरियन सिस्टम, स्काइ ब्रोडब्याण्ड लगायत विभिन्न सरकारी तथा निजी संस्थाको सहकार्यमा सञ्चालन भइरहेको छ।

आइसिटी फाउन्डेसनले यसअघि सातै प्रदेशमा डिजिटल साक्षरता अभियान ‘आइसिटी ज्ञान’ सञ्चालन गरेको र कर्णाली तथा मधेश प्रदेशमा प्रि–इभेन्ट कन्क्लेभ आयोजना गरेको थियो। ‘डिजिटल नेपाल कन्क्लेभ’ डिजिटल रुपान्तरणका लागि महत्त्वपूर्ण पहलको रूपमा मानिएको छ।

  • Clock icon
    २०८२ श्रावण ३०, शुक्रबार