अर्थमन्त्री पौडेलद्वारा बजेट लक्ष्य पूरा गर्न सक्रियता र सुधारमा जोड

  • Clock icon
    २०८२ श्रावण ३०, शुक्रबार

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले तय गरेका उद्देश्यहरु पूरा गर्न तत्काल सक्रिय भएर लाग्न निर्देशन दिएका छन्।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस पटकको बजेट यथार्थपरक रहेको उल्लेख गर्दै आर्थिक वृद्धि, पूँजीगत खर्च, राजस्व संकलन लगायतका लक्ष्यहरु पूरा गर्न औसत प्रयास पर्याप्त नहुने र कार्यशैली बदल्नुपर्नेमा जोड दिएका छन्। उनले समस्यामा अल्झिनु भन्दा समाधानतर्फ ध्यान दिन र नतिजालाई केन्द्रमा राख्न आग्रह गरे।

निजी क्षेत्रको मनोबल बढाउन अध्यादेश, नीति र कार्यक्रमले सहयोग पुगेको र यसबारे थप अध्ययन तथा अनुसन्धान गर्न आवश्यक रहेको उनले बताए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले अर्थतन्त्रका सूचकहरु ठीक भएपनि निजी र सार्वजनिक क्षेत्रमा ‘इकोनोमिक कन्फिडेन्स’ बढाउन आवश्यक रहेको बताए। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कम ब्याजदर भएका बेला अर्थतन्त्रलाई गतिशील बनाउन सरकारले निश्चित क्षेत्रमा ठूला प्रवर्धन गर्नु पर्नेमा जोड दिए।

अर्थ सचिव घनश्याम उपाध्यायले विगत लक्ष्य र नतिजाको आत्मसमीक्षा गरी काममा केन्द्रित हुनुपर्ने बताए भने राजस्व सचिव दिनेशकुमार घिमिरेले कार्यक्रमहरु कार्यान्वयनमा तत्परता देखाउनुपर्ने र राजस्व प्रशासनमा सुधार आवश्यक रहेको औँल्याए।

अर्थ मन्त्रालय योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख श्यामप्रसाद भण्डारीले अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेको जानकारी दिँदै आगामी दिनमा समन्वय र सहजीकरणलाई प्राथमिकता दिने बताए। बैठकमा सहभागीहरुले समस्या र चुनौतीहरु तुरुन्त समाधान गर्दै अघि बढ्दा थप नतिजा हासिल हुने धारणा व्यक्त गरेका थिए।

  • Clock icon
    २०८२ श्रावण ३०, शुक्रबार