पियोर इनर्जीको खुद नाफा ३ करोड १९ लाख, भदौ २४ मा बोलायो साधारणसभा

पियोर इनर्जी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ३ करोड १९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी १ करोड ७५ लाख खुद घाटामा थियो।
यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १९.२३ प्रतिशतले बढेर २५ करोड ९२ लाख पुगेको छ। कम्पनीले १ करोड ५१ लाखको अन्य आम्दानी पनि गरेको छ। विद्युत बिक्रीको आम्दानी बढेकोको कारण कम्पनीको नाफामा गएको देखिन्छ।
हालै आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी ८० करोड पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४.७० रुपियाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १००.४८ रुपैयाँ रहेको छ ।
पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि नै ब्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो ।
कम्पनीले भदौ २४ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीको सभामा संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने , कम्पनीको लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८१/०८२ को कम्पनीको वार्षिक वित्तिय विवरण (वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसुचिहरु) उपर छलफल गरि पारित गर्ने , कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व. २०८२/०८३ को लागि लेखापरीक्षण समितिको सिफारिस मुताविक लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पेश हुने छ। त्यस्तै संचालक समिति गठनको प्रस्ताव पनि सभामा पेश हुने छ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
तस्बिर : सामाजिक सञ्जालबाट