भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिश्री आइतबार बिहानै काठमाडौँ आइपुगेका छन्। उनको यो नेपाल यात्रा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणलाई औपचारिकता दिने तयारीसँग जोडिएको छ।
काठमाडौँस्थित भारतीय दूतावासका अनुसार सचिव मिश्रीले यहाँ रहँदा केही शीर्षस्थ नेताहरूसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन्। दूतावासले यो भ्रमणलाई भारतको ‘छिमेक पहिले’ नीति अनुसार भएको बताएको छ।
नेपालमा नयाँ सरकार गठन भएको लामो समयसम्म भारतले प्रधानमन्त्री ओलीप्रति चासो नदेखाएको भन्ने आलोचना भइरहेका बेला मिश्रीको नेपाल आगमनलाई विशेष रूपमा हेरिएको छ। राजनीतिक विश्लेषकहरूले यसलाई भारतको ताजा कूटनीतिक संकेतको रूपमा व्याख्या गरेका छन्।
अघिल्ला दिनमा प्रधानमन्त्री ओलीले पटकपटक भारत भ्रमण गर्ने इच्छा व्यक्त गरे पनि भारतले औपचारिक निमन्त्रणामा ढिलाइ गरेको थियो। तर पछिल्लो समय नेकपा एमालेभित्रको राजनीतिक समीकरणमा आएको परिवर्तनपछि भारतले ओलीलाई स्वागत गर्ने तयारी तीव्र पारेको बुझिन्छ।
त्यसैगरी, बाङ्गलादेश र पाकिस्तानसँग भारतको सम्बन्ध बिग्रिँदै गएको सन्दर्भमा भारतले नेपालसँगको दूरी बढाउन नचाहेको संकेत पनि यस भ्रमणमार्फत देखिएको विश्लेषण गरिएको छ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            