‘नाडा अटो शो २०२५’ को पहिलो दिनै काठमाडौंको भृकुटीमण्डपमा सर्वसाधारणको ध्यान आकर्षित गर्ने प्रमुख प्रर्दशन बनेको छ उड्ने कार।
प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समारोहबीच सार्वजनिक गरेको यो कार नेपालमा पहिलो पटक प्रत्यक्ष अवलोकन गर्ने अवसर भएको आयोजक नाडाले जनाएको छ। अटो शोमा देखाइएको यो प्रविधिपूर्ण सवारी साधनले भविष्यको मोबिलिटी समाधानबारे जनचासो झनै बढाएको देखिन्छ।
चीनको चांगन अटोमोबाइल र ईह्याङ कम्पनीको सहकार्यमा बनेको ‘दिपल’ ब्रान्डअन्तर्गतको यो दुई सिटे उड्ने कार पूर्ण इलेक्ट्रिक प्रविधिमा आधारित छ। एकपटकको चार्जमा करिब ३० किलोमिटर उड्न सक्ने यस कारको अधिकतम गति १३० किलोमिटर प्रतिघण्टा रहेको छ।
नेपालमा एमएडब्लू वृद्धि अटो कर्प प्रा.लि.ले ल्याएको यो कार तातोपानी नाकामार्ग हुँदै भरियाको सहायतामा काठमाडौं भित्र्याइएको हो। यात्रुको सुरक्षाका लागि मल्टी–प्यारासुट प्रणाली जडान गरिएको यस कारलाई अहिले मात्र प्रदर्शनका लागि ल्याइएको हो। संचालन अनुमति नभएकाले नेपालमा यसको मूल्य तोकिएको छैन।
तर चीनमा भने यसको अनुमानित मूल्य झन्डै २ करोड रुपैयाँ बराबर पर्छ। अमेरिका, चीन, कोरिया र यूएईमा यस प्रकारका कारको परीक्षण उडान भइसकेको बताइन्छ।
भृकुटीमण्डपमा सुरु भएको अटो शोमा उड्ने कार अवलोकन गर्न आउने दर्शकहरूको भीड बाक्लिँदै गएको छ। आयोजकले यसलाई भविष्यको प्रविधि र नवप्रवर्तनमा नेपालले पाएको नयाँ अनुभवको रूपमा व्याख्या गरेका छन्।