तुलसीप्रसाद घिमिरे नागरिक लगानी कोषका अध्यक्ष नियुक्त

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नागरिक लगानी कोषका नवनियुक्त अध्यक्ष तुलसीप्रसाद घिमिरेलाई बधाइ तथा सफलताको शुभकामना दिएका छन्। बुधबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले घिमिरेलाई नयाँ जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका हुन्।

आइतबारको उपप्रधान तथा अर्थमन्त्रीस्तरीय निर्णयअनुसार घिमिरेलाई कोष सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरिएको हो।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, एमए र एमपीएको डिग्री प्राप्त घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त भइसकेका छन्। उनले केन्द्रीय बैंकमा सेवा गर्दा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ र अनुसन्धानसम्बन्धी विभिन्न विभागमा काम गरेका थिए।

नवनियुक्त अध्यक्ष घिमिरेले अब नागरिक लगानी कोषको नेतृत्व गर्दै लगानी प्रवर्द्धन, कोषको पारदर्शिता र संस्थागत क्षमता विकासमा केन्द्रित हुने अपेक्षा गरिएको छ।