बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८१–८२ मा कुल ३२ अर्ब ८० करोड १४ लाख रुपैयाँ कर सरकारलाई बुझाएका छन्। यो अघिल्लो वर्षको तुलनामा २३.५६ प्रतिशत बढी हो। गत वर्ष बैंकहरुको नाफामा उल्लेख्य सुधार आएकोले कर पनि उच्च दरमा बढेको हो।
बैंकहरुले आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्छ भने करपछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएर बाँकी रकमको ३० प्रतिशत आयकर सरकारलाई बुझाउनुपर्ने प्रावधान छ। गत आवमा बैंकहरुले ७१ अर्ब १८ करोड ४४ लाख रुपैयाँ बढी नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४३.६८ प्रतिशत बढेको हो।
सबैभन्दा बढी कर कुमारी बैंकले बुझाएको छ। बैंकले गत आवमा ३ अर्ब ६६ करोड ४९ लाख रुपैयाँ कर बुझाएको छ, जबकि अघिल्लो वर्ष ९९ करोड ४३ लाख मात्र थियो। त्यसैगरी, नबिल बैंक दोस्रो स्थानमा रहँदै ३ अर्ब २१ करोड ८० लाख रुपैयाँ कर तिरेको छ, अघिल्लो वर्षको तुलनामा ३४.१४ प्रतिशत बढी।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि उल्लेख्य नाफापछि २ अर्ब ८५ करोड ३९ लाख रुपैयाँ कर बुझाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ८३.४३ प्रतिशत बढी हो। यस्तै, ग्लोबल आइएमई २ अर्ब ५७ करोड ९२ लाख, एभरेष्ट २ अर्ब ५३ करोड २७ लाख, प्राइम १ अर्ब ९१ करोड ४१ लाख, कृषि विकास १ अर्ब ६९ करोड ५६ लाख, लक्ष्मी १ अर्ब ६५ करोड १५ लाख, नेपाल बैंक १ अर्ब ६५ करोड १ लाख, सिद्धार्थ १ अर्ब ६४ करोड १८ लाख, राष्ट्रिय वाणिज्य १ अर्ब ६३ करोड ५७ लाख, स्ट्याण्डर्ड चार्टर्ड १ अर्ब ५२ करोड ४९ लाख र एनएमबि १ अर्ब ४१ करोड ३६ लाख रुपैयाँ कर बुझाएका छन्।
त्यसैगरी सानिमा बैंक ९८ करोड ७९ लाख, नेपाल एसबिआई ९० करोड ७४ लाख, माछापुच्छ्रे ८९ करोड २८ लाख, प्रभू ८६ करोड २४ लाख, हिमालयन ५७ करोड ३८ लाख, सिटिजन्स ५४ करोड ५१ लाख र एनआइसी एशिया ५ करोड ५१ लाख रुपैयाँ कर तिरेका छन्।