भारत र चीनले नेपालको लिपुलेक भूभाग हुँदै सीमा व्यापार पुनः सञ्चालन गर्ने सहमति गरेका छन्। लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटर भित्र पर्छ।
चिनियाँ विदेशमन्त्री वाङ यी भारत भ्रमणका क्रममा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालको निमन्त्रणामा भाद्र २ र ३ गते भेटवार्ता गरेका थिए। भारतीय विदेशमन्त्री एस जयशंकरसँग भएको द्विपक्षीय वार्तामा तीनवटा व्यापारिक बिन्दु – लिपुलेक पास, शिपकी ला पास र नाथू ला पास – हुँदै सीमा व्यापार खोल्ने सहमति भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
यो सहमति १० वर्षपछि आएको हो। सन् २०१५ मा भारत र चीनका प्रधानमन्त्रीबीच लिपुलेक नाकाबाट व्यापार अभिवृद्धि गर्ने सहमति भए पनि नेपाललाई जानकारी नदिइएको थियो। त्यसबेला नेपालले औपचारिक रूपमा आपत्ति जनाउँदै दुवै देशलाई कुटनीतिक नोट पठाएको थियो।
भारत र चीनबीच चिसिएको सम्बन्ध सुधार हुने क्रम बढेसँगै हाल फेरि नेपालको भूमि हुँदै व्यापार सहमति भएको हो। लिपुलेक पास नेपालले जारी गरेको औपचारिक नक्सामा नेपालको भित्र पर्ने क्षेत्र हो।
सन् २०२० मा गलवान झडपपछि भारत–चीन सम्बन्ध तनावपूर्ण बनेको थियो, तर पछिल्लो समय चरणवद्ध उच्चस्तरीय वार्ता र भेटघाटमार्फत सम्बन्ध सुधारको प्रयास भइरहेको छ।
नेपालले लामो समयदेखि लिपुलेक–कालापनी–लिम्पियाधुराको भूभागमा आफ्नो दावी राख्दै आएको छ। भारतले २०१९ मा नयाँ नक्सामा उक्त क्षेत्रलाई आफ्नो सीमाभित्र देखाएपछि विवाद चुलिँदै गएको थियो। नेपालले २०७७ जेठमा आफ्नो ‘चुच्चे नक्सा’ जारी गरी क्षेत्रीय दावी पुष्टि गरेको थियो।
विशेषज्ञहरूका अनुसार, हालको सहमति भारत–चीन सम्बन्ध सुधारको संकेत भए पनि नेपालको स्वीकृति बिना भएको व्यापार सहमति भू–राजनीतिक रूपमा संवेदनशील मानिएको छ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            