‘नाडा अटो शो–२०२५’ मा सस्तो अटो लोनको प्रतिस्पर्धा

राजधानीको भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको वार्षिक ‘नाडा अटो शो–२०२५’ यसपटक नयाँ मोडलका कार, बाइक र विद्युतीय सवारी साधन मात्र होइन, बैंकहरूको सस्तो कर्जा अफरकै कारण विशेष चर्चामा परेको छ ।

प्रदर्शनीमा आएका ग्राहकहरू गाडीको मोडलभन्दा पनि बैंकहरूले ल्याएका कर्जा योजनातर्फ बढी आकर्षित देखिएका छन् । करिब आधा दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूले यसपटक इतिहासमै न्यून ब्याजदरमा अटो लोन दिने घोषणा गरेका छन् । बैंकहरूले आफ्ना स्टलमा विशेष कर्जा परामर्श टिम राखी प्रक्रिया सरल बनाइरहेका छन् ।

यस वर्षको अटो शोमा कृषि विकास बैंक सबैभन्दा आकर्षक अफर सहित अगाडि आएको छ । बैंकले ६.२३ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने घोषणा गरेको छ ।

त्यसैगरी, नबिल बैंकले न्यूनतम ६.७४ प्रतिशत, ग्लोबल आइएमई र नेपाल एसबीआईले समान ६.९९ प्रतिशत ब्याजदरको योजना ल्याएका छन् । ग्लोबलले अतिरिक्त सुविधा स्वरूप पाँच वर्षे स्थिर योजनामा ८.२५ प्रतिशत ब्याजदर कायम गर्ने जनाएको छ ।

हिमालयन बैंकले आफ्नो कर्जा दरलाई बैंकको आधार दरसँग जोडेको छ, जसअनुसार हाल करिब ७.५७ प्रतिशत पर्छ । यस बैंकले अधिकतम आठ वर्षसम्मको अवधि दिने व्यवस्था पनि गरेको छ ।

एनएमबी बैंकले विद्युतीय सवारी साधनका लागि ७.१३ प्रतिशत ब्याजदर तोकेको छ भने पाँच वर्षे स्थिर योजनामा ८.८९ प्रतिशत ब्याजदर राखेको छ । त्यस्तै, सानिमा बैंकले ई–भेहिकलका लागि ७.४९ प्रतिशत स्थिर दर प्रस्ताव गरेको छ ।

लक्ष्मी सनराइज बैंकले सात वर्षे अवधिसहितको अटो कर्जा ७.९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने घोषणा गरेको छ ।

नयाँ मोडल र प्रविधिका कारण प्रायः चर्चित हुने ‘नाडा अटो शो’ यसपटक भने बैंकहरूको ‘सस्तो ब्याजदरको दौड’ ले अझ विशेष बनेको छ, जसले धेरैलाई आफ्नो रोजाइको सवारी किन्ने अवसर नजिक्याएको छ ।