अमेरिकाले भारतलाई रुससँगको तेल व्यापारमार्फत सस्तोमा किनेर महँगोमा बेच्दै ठूलो नाफा कमाएको आरोप लगाएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मंगलबार दिएको अभिव्यक्तिमा भारतले युद्धपछिको अवसरलाई आर्थिक लाभको साधन बनाएको आरोप लगाइएको छ।
उनले बताएअनुसार, रुस–युक्रेन युद्ध सुरु भएपछि चीनको तेल आयात ३ प्रतिशतले मात्र बढेको छ भने भारतको आयात ४० प्रतिशतभन्दा बढीले बढेको छ। बेसेन्टले भारतले यस व्यापारबाट १६ अर्ब डलर बराबरको अतिरिक्त नाफा आर्जन गरेको उल्लेख गर्दै “यो व्यापार भारतका केही धनी परिवारहरूको हितमा मात्रै प्रयोग भएको” आरोप लगाए।
यसैबीच, ट्रम्प प्रशासनले भारतविरुद्ध भन्सार महसुल बढाउने निर्णय गरेको छ। अगस्ट २७ देखि लागू हुने गरी अमेरिकामा प्रवेश गर्ने भारतीय सामानमा २५ प्रतिशत अतिरिक्त महसुल थपिनेछ, जसले कुल भन्सार ५० प्रतिशत पुर्याउने बताइएको छ।
अमेरिकी चेतावनीअनुसार, यदि ट्रम्प र पुटिनबीच वार्ता सफल नभए भारतमाथि थप प्रतिबन्ध लगाउन सकिनेछ। बेसेन्टले सीएनबीसीसँगको अन्तर्वार्तामा भारतको व्यापारिक अभ्यासलाई “पूर्ण रूपमा अस्वीकार्य” भनेका छन्।
यता, भारतले भने अमेरिकी कदमलाई अनुचित भन्दै आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाको लागि आवश्यक सबै कदम चाल्ने घोषणा गरेको छ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            