वैदेशिक रोजगारीमा ठगीका उजुरी ५ हजार नाघ्यो

वैदेशिक रोजगारीको नाममा ठगी सम्बन्धी उजुरीको संख्या बढ्दै गएको छ। वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ र चालु आर्थिक वर्षको साउन महिनासम्म मुद्दा तथा अनुसन्धान शाखामा ५ हजार ५५४ वटा उजुरी दर्ता भएका छन्।

विभागका तथ्याङ्कअनुसार, गत वर्ष ठगीका ४ हजार ९७४ उजुरी प्राप्त भएका थिए। साउन महिनामा मात्रै ५८० उजुरी थप भएको विभागले जनाएको छ। असार महिनामा भने ६८१ उजुरी परेका थिए।

गत वर्ष प्राप्त उजुरीमध्ये ५२८ वटा उजुरी मिलापत्र मार्फत समाधान गरिएको थियो भने २१५ उजुरी अदालतमा पुगेको थियो। यसबाट ३२ करोड ८७ लाख भन्दा बढी क्षतिपूर्ति भुक्तानी गरिएको थियो। साउन महिनामा प्राप्त ५८० उजुरीमध्ये ७४ वटा मिलापत्र र २६ वटा अदालत पुगेका उजुरी थिए। यसबाट साढे ३ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति भराइएको छ।

प्रहरी शाखामा पनि ५ हजार ३३७ उजुरी दर्ता भएको छ। यसमा १२ वटा मिलापत्र भए पनि ४ हजार ८७६ मुद्दा फर्छ्यौट गरिएको छ भने ४४९ उजुरी अझै बाँकी रहेको विभागले जनाएको छ। साउन महिनामा प्रहरी शाखामा थप ५२२ उजुरी दर्ता भएको थियो, जसमा ४४३ मुद्दा फर्छ्यौट र ७९ मुद्दा अझै बाँकी रहेका छन्।

गत आर्थिक वर्षमा कुल ८ लाख ३९ हजारले श्रम स्वीकृति लिएका थिए। वैदेशिक रोजगारीमा जानेहरूको संख्या बढेसँगै ठगीका घटना पनि बढेका हुन्। विभागले सचेतनामूलक कार्यक्रम संचालन गरिरहेको भए पनि ठगी रोक्न सकिएको छैन।