नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा विभिन्न क्षेत्रमा ६७ अर्ब २३ करोड २५ लाख रुपैयाँभन्दा बढी लगानी गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार, सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले नियामक निकायको निर्देशिका अनुसार मुद्दती निक्षेपबाट बाहिर निस्कँदै विविध क्षेत्रमा लगानी विस्तार गरेका हुन्।
लगानीका हिसाबले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले समीक्षा अवधिमा ७ अर्ब ९९ करोड ५८ लाख रुपैयाँ शिक्षा, बैंकिङ र पूर्वाधार लगायतका क्षेत्रमा लगानी गरेको छ।
त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले ७ अर्ब ७७ करोड १० लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ७ अर्ब २७ करोड ६८ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ५ अर्ब १५ करोड ६ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ६ अर्ब ४८ करोड १० लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ४ अर्ब ८९ करोड ८ लाख रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४ अर्ब ८० करोड ३९ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन्।
त्यस्तै, नेपाल इन्स्योरेन्सले ४ अर्ब ४३ करोड ५४ लाख रुपैयाँ, द ओरियण्टल इन्स्योरेन्सले ३ अर्ब २४ करोड ११ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले २ अर्ब ८९ करोड ६३ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब १७ करोड ७६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३ अर्ब ८८ करोड २८ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले ३ अर्ब ४६ करोड १३ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले ३ अर्ब ७६ करोड ६८ लाख रुपैयाँ विभिन्न उच्च प्रतिफल पाइने क्षेत्रमा लगानी गरेका छन्।
बीमा कम्पनीहरुको सबैभन्दा ठूलो लगानी ५१ अर्ब ९२ करोड १३ लाख रुपैयाँ राष्ट्र बैंक इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा छ।
त्यसैगरी, बीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको शेयरमा ४ अर्ब ४२ करोड १८ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा २ अर्ब ८९ करोड ९० लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फण्डमा १ अर्ब ७० लाख रुपैयाँ, साथै इन्भेष्टमेन्ट कम्पनीहरुको शेयरमा २९ करोड ४३ लाख रुपैयाँ र सूचीकृत नभएका अन्य पब्लिक कम्पनीमा १ करोड ४८ लाख रुपैयाँ लगानी गरेका छन्।
त्यसबाहेक, पर्यटन, उद्योग, सौर्य उर्जा, केवलकार, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा समेत बीमा कम्पनीहरुले १ अर्ब २५ करोड ५३ लाख रुपैयाँ लगानी विस्तार गरेका छन्।