जलविद्युत नाफामा उछाल : घाटामै रहे अपर तामाकोशी

नेपालका जलविद्युत कम्पनीहरुले प्राकृतिक प्रकोप र चुनौतीबीच पनि विगत आर्थिक वर्ष २०८१/८२ मा नाफा कमाउन सफल भएका छन् । बाढी, पहिरो र भौतिक संरचनामा देखिएको क्षतिको बाबजुद बिजुली बिक्री आम्दानी बढेपछि कम्पनीहरुको वित्तीय चित्रमा ठुलो सुधार आएको हो।

हाल सञ्चालनमा रहेका करिब साढे सात दर्जन कम्पनीहरुले सार्वजनिक गरेका चौथो त्रैमासिक विवरणअनुसार गत वर्ष औसत नाफा २ अर्ब १९ करोड १२ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष भने ती कम्पनीहरुले २ अर्ब ५३ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेका थिए।

बिक्री आम्दानीमा करिब १४ प्रतिशत वृद्धि

कम्पनीहरुले गत वर्ष ३८ अर्ब २३ करोड ७१ लाख रुपैयाँ बराबरको बिजुली बिक्री गरेका छन्, जुन अघिल्लो वर्षको ३२ अर्ब ५६ करोड २३ लाख रुपैयाँभन्दा १३.९३ प्रतिशत बढी हो। उत्पादनमा निरन्तरता कायम रहेकाले नै नाफा सुधार भएको जनाइएको छ।

५८ कम्पनी नाफामा, ३१ घाटामा

सूचीकृत ९२ मध्ये ५८ कम्पनी नाफामा पुगेका छन् भने ३१ कम्पनी अझै घाटामा रहेका छन्। अघिल्लो वर्ष घाटामा रहेका धेरै कम्पनी नाफामा पुगेका छन्।

सर्वाधिक नाफा गर्ने कम्पनीहरु

नाफाको सूचीमा साहस उर्जा शीर्षमा रह्यो। यसको नाफा ११४.७५ प्रतिशतले बढ्दै ९० करोड २७ लाख रुपैयाँमा पुगेको छ। त्यसपछि चिलिमे हाइड्रोपावर ६७ करोड ९५ लाख ९९ हजार, माउन्टेन इनर्जी ६२ करोड ९० लाख, अरुण भ्याली ४४ करोड ८१ लाख, अपि पावर ४२ करोड ७६ लाख, सानिमा मिडल तमोर ४० करोड ५५ लाख, ग्रीन भेन्चर्स ३८ करोड ९६ लाख, राधी विद्युत ३७ करोड ९८ लाख, सानिमा माई ३२ करोड ३७ लाख र बुटवल पावर २२ करोड ६१ लाख रुपैयाँ नाफा गर्दै शीर्ष दसमा पर्न सफल भए।

यस्तै, अरुण काबेली, सिंगटी, युनिभर्सल, मिड सोलु, अपर सोलु, रिडी पावरलगायत दर्जनौं कम्पनीले पनि १० करोडभन्दा बढी नाफा कमाए।

घाटामा रहने प्रमुख कम्पनीहरु

वित्तीय सुधार देखिए पनि अपर तामाकोशी भने अझै ठूलो घाटामा छ। कम्पनीले गत वर्ष २ अर्ब ५७ करोड २५ लाख घाटा व्यहोरेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ५२ करोड ३३ लाख घाटाभन्दा अझ बढी हो।

यस्तै, रसुवागढी हाइड्रोपावर ४८ करोड ७७ लाख, माउन्टेन हाइड्रोपावर ४१ करोड ६० लाख, साञ्जेन जलविद्युत २७ करोड ९३ लाख, पिपुल्स हाइड्रोपावर १५ करोड ७७ लाख, मोदी इनर्जी ९ करोड ४७ लाख, न्यादी हाइड्रोपावर ९ करोड ३३ लाख, राप्ती हाइड्रो ७ करोड ३७ लाख र दोर्दी खोला ७ करोड ५ लाख घाटामा परे।
अन्य करिब दुई दर्जन कम्पनी भने ५ करोडभन्दा कम घाटामा सीमित भए।