हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले आफ्नो पहिलो बन्दमुखी म्युचुअल फण्ड योजना भदौ १५ गतेदेखि निष्काशन गर्ने भएको छ। कम्पनीले ‘एचएलआई लार्ज क्याप फण्ड’ नामक योजना बजारमा ल्याउने तयारी गरेको हो।
४ अर्ब बराबरको कोष
कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँबराबरको ४० करोड इकाई निष्काशन गर्नेछ। यसमध्ये ५० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० करोड इकाई कोष प्रवद्र्धक हिमालयन लाइफ इन्स्योरेन्सका लागि सुरक्षित गरिएको छ भने बाँकी २० करोड इकाई सर्वसाधारणलाई सार्वजनिक निष्काशनमार्फत उपलब्ध गराइनेछ।
न्यूनतम र अधिकतम आवेदन सीमा
सर्वसाधारण लगानीकर्ताले कम्तीमा १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ४ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
१० वर्षे अवधि
यो योजना हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुनेछ। इकाई बाँडफाँट भएको मितिबाट १० वर्षे अवधिका लागि यो योजना लागू हुनेछ।
आवेदन अवधि र म्याद थप
फण्डमा आवेदन दिन भदौ १८ गतेसम्म समय दिइएको छ। तर आवश्यक मात्रामा आवेदन नआएमा म्याद भदौ २९ गतेसम्म बढाइनेछ। बिक्री अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात २० करोड इकाई खरिदको लागि आवेदन आएमा इकाई बाँडफाँट हुनेछ। तर न्यूनतम इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र लगानीकर्ताको रकम फिर्ता गरिने कम्पनीले जनाएको छ।