अटोमोबाइल क्षेत्रमा स्थिर कर्जा नीति आवश्यक : नाडा अन्तरक्रिया

काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ मा बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको संयुक्त अन्तरक्रियामा वक्ताहरूले अटोमोबाइल क्षेत्रमा स्थिर कर्जा नीति आवश्यक रहेको बताए।

नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व समितिका उपसंयोजक तथा नाडा अटोमोबाइल्स एसोसिएशनका पूर्व अध्यक्ष कृष्ण दुलालले यस क्षेत्र सुरक्षित र दीर्घकालीन व्यवसायका लागि महत्वपूर्ण भएको उल्लेख गर्दै कर्मचारीलाई बाइक वा गाडी किन्न २० वर्षसम्मको कर्जा व्यवस्था आवश्यक रहेको बताए।

बैंकका दृष्टिकोण

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अटोमोबाइल क्षेत्रमा हाल दुई खर्ब रूपैयाँभन्दा बढी कर्जा प्रवाह भएको जानकारी दिए। उनका अनुसार, हायर पर्चेज कम्पनीहरूले पनि लगानी गर्दै आएका छन्।
‘व्यक्तिगत र व्यवसायीक गाडीमा फरक ‘लोन टु भ्यालू रेसियो’ लागू हुन्छ,’ उनले भने। निजी गाडीमा कम ब्याजदर लागू हुने, तर सार्वजनिक यातायातमा जोखिमका कारण बढी ब्याज लिने गरिएको बताए।

अग्रणी हायर पर्चेज कम्पनी भेन्चर हायर पर्चेजका सीईओ बाबुराम शर्माले अटो क्षेत्रमा २६ अर्ब ५० करोड रुपैयाँ लगानी भएको जानकारी दिए। उनले गाउँ–गाउँमा कर्जा प्रवाह भइरहेको र विद्युतीय गाडीको माग बढेसँगै कर्जा आवश्यकतामा वृद्धि भएको बताए।

कर्जा प्रवाहमा समस्या न्यून

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले अटोमोबाइल क्षेत्रमा प्रवाह भएको कर्जा समस्या कम रहेको र लगानी सुरक्षित रहेको बताए। उनका अनुसार, व्यवसायीक गाडीमा बढी चुनौती भए पनि निजी गाडीमा ग्राहकको सम्पत्ति धितो राखेर कर्जा प्रवाह भइरहेको छ।

अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन रूपमा सुरक्षित र उत्पादनमूलक बनाउन स्थिर कर्जा नीति अपरिहार्य रहेको वक्ताहरूको निष्कर्ष रहेछ। कर्मचारी र व्यवसायीलाई कर्जा सहज बनाउन सरकार र वित्तीय संस्थाहरूको सहयोग आवश्यक रहेकोमा सबैको सहमति छ।