नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व समितिका उपसंयोजक कृष्ण दुलालले अटोमोबाइल क्षेत्रको भविष्य उज्जवल रहेको बताएका छन्। उनले लगानीकर्ताले यस क्षेत्रमा लगानी गर्दा कुनै चिन्ता लिन नपर्ने दाबी गरेका छन्।
दुलाल, जो नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका पूर्व अध्यक्ष पनि हुन्, काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ अन्तर्गत आयोजित अन्तरक्रियामा बोल्दै यस्तो बताएका हुन्। अन्तरक्रियाको विषय थियो, ‘कर्जा नीतिमा स्थिरता: अटोमोबाइल बजारको दीर्घकालिन विकासको आधार’।
उनका अनुसार अटोमोबाइल क्षेत्र सुरक्षित र स्वस्थ व्यवसाय भएकाले लगानीकर्ता पछाडि फर्किनुपर्ने अवस्था छैन। साथै, कर्मचारीहरूलाई बाइक वा गाडी किन्नको लागि लामो अवधि, अधिकतम २० वर्षसम्मको कर्जा प्रवाह गर्नुपर्ने माग उनले राखेका छन्।
दुलालले भने, “यदि यस्तो व्यवस्था सकियो भने अधिकांश कर्मचारीले सजिलै गाडी खरिद गर्न सक्नेछन्। यसका लागि सरकारले ध्यान दिनु आवश्यक छ। यसले अटोमोबाइल क्षेत्रको विकासमा ठूलो योगदान पुर्याउनेछ।”