नेपालले भारतलाई थप ८० मेगावाट बिजुली निर्यात गर्ने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भारत सरकारले मेवाखोलाको ४८.५ मेगावाट र करुवासेती हाइड्रोपावरको ३१.०४ मेगावाट विद्युत् खरिदका लागि अनुमति प्रदान गरेको हो।
यो अनुमतिको अवधि २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्म रहेको छ, जुन वाइल्याटरल सम्झौताअन्तर्गत मध्यम अवधिका लागि मान्य हुनेछ। यसअघि भारतले नेपालबाट १ हजार १०.९ मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरिसकेको थियो। थप ८० मेगावाटसहित भारतमा निर्यात क्षमता १ हजार ९०.९ मेगावाट पुगेको छ।
नेपालले वर्षायाममा भारतलाई बिजुली बिक्री गर्ने र सुख्खायाममा भारतबाट किन्नु सामान्य रणनीति अपनाउँदै आएको छ। साथै, नेपालले बंगलादेशलाई ४० मेगावाट बिजुली निर्यात गर्दै आएको छ। यी सबै मिलाएर नेपालको कुल विद्युत् निर्यात स्वीकृति १,१३0.९ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            