नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले भारत र चीनबीच भदौ ३ गते नेपालको पूर्वसहमति बिना लिपुलेक नाका व्यापार प्रयोजनका लागि सञ्चालन गर्ने निर्णयप्रति आपत्ति जनाएको छ। पार्टीले शुक्रबार जारी विज्ञप्तिमार्फत यस एकपक्षीय कदमलाई नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति उपेक्षाको रुपमा देखिएको बताएको छ।
विज्ञप्तिमा भनिएको छ, “सन् २०१५ मा भारतीय प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा भएको सहमतिबाट लिपुलेकलाई भारत–चीन व्यापारिक मार्गको रुपमा प्रयोग गर्ने प्रयास सुरु भएको थियो। तत्कालीन समयमा नेपाल सरकारले औपचारिक नोट पठाएर असहमति जनाए पनि पुनः त्यही गल्ती दोहोर्याइएको छ।”
नयाँ शक्तिले यस कदमलाई छिमेकी मुलुकहरूको हेपाहा प्रवृत्तिको प्रतिबिम्ब भनेको छ र नेपाल सरकारको कूटनीतिक सक्रियता तथा दृढतामा देखिएको कमजोरीले सीमा र राष्ट्रिय हितका संवेदनशील प्रश्नहरू जटिल बनाएको ठहर गरेको छ।
पार्टीले विज्ञप्तिमा जोड दिएको छ कि सीमा विवाद र संवेदनशील कूटनीतिक विषयहरूको समाधानका लागि नेपालले प्रभावकारी, सशक्त र परिणाममुखी कूटनीतिक पहल गर्नुपर्छ। साथै, भारत–चीन–नेपालबीच समानता, आपसी सम्मान र विश्वासमा आधारित त्रिदेशीय सहकार्यको ढाँचा निर्माण गर्नु आवश्यक रहेको बताइएको छ।

 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            