अटो क्षेत्रमा हायर पर्चेजबाट २६ अर्ब लगानी, कर्जा प्रवाह सहज बनाउने आग्रह

भेन्चर हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराम शर्माले अटोमोबाइल क्षेत्रमा हायर पर्चेज कम्पनीमार्फत २६ अर्ब ५० करोड रूपैयाँ लगानी भएको बताएका छन्।

यो जानकारी उनले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको संयुक्त रुपमा आयोजना गरिएको ‘कर्जा नीतिमा स्थिरता: अटोमोबाइल बजारको दीर्घकालिन विकासको आधार’ विषयक अन्तरक्रियामा दिएका हुन्।

उनका अनुसार काठमाडौंमा दर्ता भएका हायर पर्चेज कम्पनीले गाउँ गाउँमा गएर कर्जा प्रवाह गरेको छ। साथै, हायर पर्चेज कम्पनीहरूलाई कर्जा प्रवाहमा सहजिकरण गरिदिन सरकार र सम्बन्धित निकायमा आग्रह गरे।

शर्माले बताए अनुसार, नेपालमा स्थापित कम्पनीले विक्री गर्ने गाडीमा कर्जा दिने प्रक्रियामा समस्या कम देखिएको छ। विद्युतीय गाडीको माग बढेसँगै कर्जा माग पनि उच्च भइरहेको उनले जानकारी दिए।

अटो क्षेत्रमा कर्जा प्रवाह गर्दा विक्रीपछिको सेवा र नेपालमा उपलब्ध सर्भिस लगायतका पक्षलाई समेत केन्द्रमा राखिने र हायर पर्चेज क्षेत्रमा खराब कर्जा समस्या न्यून रहेको उनको भनाइ छ।