सगरमाथाबाट ५ हजार किलो फोहोर सङ्कलन, नेपाल लाइफ र राउन्ड टेबलको साझा प्रयास

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले राउन्ड टेबल नेपालसँगको सहकार्यमा प्रोजेक्ट केयर अभियान अन्तर्गत सगरमाथाबाट ५,००० किलो फोहोर सङ्कलन गरेको छ।

केन्द्रीय कार्यालय कमलादीमा आयोजित विशेष समारोहमा राउन्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवाल ले फोहोर सङ्कलनसम्बन्धी प्रतिवेदन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली लाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, राउन्ड टेबलका पदाधिकारी तथा सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) र खालिसीसी का प्रतिनिधिहरू उपस्थित थिए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले नेपाल लाइफको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सगरमाथा सफाइ अभियान सञ्चालन गरिएको र पहिलो चरणमा ५,००० किलो फोहोर सङ्कलनमा सफल भएको जानकारी दिए। उनले आगामी दिनमा पनि सगरमाथाको संरक्षण र सौन्दर्यतालाई कायम राख्न प्रतिबद्धता व्यक्त गरे।

राउन्ड टेबल नेपालका अध्यक्ष अग्रवालले यस अभियान अन्तर्गत यस पटक ५ हजार किलो फोहोर सङ्कलन भएको र आगामी दिनमा २५ हजार किलो फोहोर व्यवस्थापन गर्ने योजना रहेको बताए। कुहिने फोहोर आधार शिविर भन्दा तल पुरिएको र नकुहिने फोहोर ३० किलोको झोला बनाएर काठमाडौं ल्याइएको जानकारी दिए। काठमाडौं ल्याइएको फोहोरलाई खालिसीसीको सहकार्यमा रिसाइकलिङ गर्ने योजना रहेको पनि उनले बताए।

अग्रवालले भने, “सगरमाथा विश्वकै आकर्षण भएकाले आरोहीहरूको संख्यासँगै फोहोर बढ्ने क्रम तीव्र छ। यस अभियानले ठूलो परिवर्तन ल्याउने विश्वास छ।”

नेपाल लाइफ र राउन्ड टेबल नेपालको यो साझा पहलले सगरमाथा फोहोरको चुनौतीलाई घटाउँदै वातावरण संरक्षण र पर्वतारोहणको दिगोपनमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।