नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘१७ औँ संस्करणको नाडा अटो शो–२०२५’ भव्य रूपमा सम्पन्न भएको छ । गत मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको अटो शो आइतबार समापन भएको हो । ६ दिनसम्म चलेको प्रदर्शनी अवलोकन गर्न १ लाख ६० हजारभन्दा बढी दर्शक उपस्थित भएका थिए ।
समापन समारोहमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले यो संस्करणलाई ऐतिहासिक भनेका छन् । उनका अनुसार अघिल्ला प्रदर्शनीमा सामान्य सवारीसाधन मात्र देखाइने भए पनि यसपटक पहिलोपटक उड्ने ट्याक्सी र रोबोट प्रविधि प्रदर्शनीमा प्रस्तुत गरिएको हो ।
चौधरीले भने, “यस वर्षको मेला मोस्ट एड्भान्स, मोस्ट लार्जेस्ट, मोस्ट इन्क्लुसिभ र सबैभन्दा धेरै राजस्व जेनेरेट गर्ने प्रदर्शनी बनेको छ ।” अटो शोमा इलेक्ट्रिक सवारी साधनदेखि उन्नत प्रविधि र नयाँ अटो समाधानहरू प्रस्तुत गरिएका थिए । यसले नेपाली बजारमा विद्युतीय सवारीसाधन र प्रविधि–मैत्री समाधानप्रति आम सर्वसाधारणको चासो र सम्भावना प्रस्ट पारेको आयोजकहरूको भनाइ छ ।
यो प्रदर्शनीले नेपालमा अटोमोबाइल उद्योगको भविष्य र प्रविधिको सम्भावनाबारे सकारात्मक सन्देश प्रवाह गरेको बताइएको छ ।