नेपाल सरकारले भारतबाट ४० हजार टन गहुँ आयात गर्न प्रक्रिया अघि बढाएको छ। भारत सरकारको नेसनल कोअपरेटिभ एक्सपोर्ट लिमिटेडमार्फत तोकिएको यो गहुँको कोटा खाद्य तथा मैदा उद्योगका लागि उपलब्ध गराइएको हो।
उद्योग विभागले सम्बन्धित उद्योगहरूलाई सात दिनभित्र प्रस्ताव पेश गर्न आग्रह गरेको छ। प्रस्ताव पेश गर्ने उद्योगहरूले गहुँ आयातको सुनिश्चितता गर्नुपर्नेछ, नभए कोटा वितरण नहुने स्पष्ट गरिएको छ।
यसपटक कोटा वितरण गर्दा औद्योगिक दर्ता, वार्षिक योजनामा गहुँ प्रयोगको उल्लेख, र तीन महिनाभित्र आयात पूरा गर्ने सर्तहरू लागू गरिने जनाएको छ। यसले पूर्व अनुभवको आधारमा गहुँ आयात प्रक्रिया थप पारदर्शी र व्यवस्थित बनाउने उद्देश्य राखिएको छ।