नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्षका लागि आफ्ना कर्मचारीहरूको बोनस सुविधा सुनिश्चित गर्न कुल ११ अर्ब ५९ करोड २ लाख ५८ हजार रुपैयाँ छुट्याएका छन्। २० वटा बैंकहरूले तलबको औसत १९.५७ प्रतिशत बोनसका रूपमा खर्च गरेका छन्।
बोनस ऐन तथा नियमावली अनुसार कर तिर्नु अघि बैंकले नाफाबाट अधिकतम १० प्रतिशत रकम बोनसका लागि छुट्याउन सक्ने व्यवस्था छ।
गत वर्ष सबैभन्दा बढी रकम नबिल बैंकले छुट्याएको छ, जसले आफ्ना कर्मचारीका लागि १ अर्ब १४ करोड ९५ लाख रुपैयाँ छुट्याएको छ। दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि) रहेको छ, जसले १ अर्ब ६ करोड ७८ लाख ४० हजार रुपैयाँ छुट्याएको छ। तेस्रो स्थानमा ग्लोबल आइएमई बैंक ९७ करोड ६० लाख रुपैयाँका साथ छ।
अन्य बैंकहरूमा एभरेष्ट बैंक २ करोड ७ लाख, प्रभू बैंक ७० करोड ५ लाख ६८ हजार, प्राइम बैंक ६५ करोड ९८ लाख, कृषि विकास बैंक ६५ करोड, कुमारी बैंक ६४ करोड २३ लाख, लक्ष्मी सनराइज बैंक ६४ करोड ९ लाख, राष्ट्रिय वाणिज्य बैंक ६० करोड ५८ लाख, र नेपाल बैंक ६० करोड २५ लाख रुपैयाँ छुट्याएका छन्।
सिद्धार्थ बैंकले ५५ करोड ९६ लाख ७६ हजार, एनएमबि बैंक ५२ करोड १७ लाख, स्ट्याण्डर्ड चार्टर्ड ५० करोड ६० लाख, सानिमा बैंक ३९ करोड ५४ लाख ५८ हजार, माछापुच्छ्रे बैंक ३२ करोड २७ लाख, र नेपाल एसबिआई ३० करोड ११ लाख रुपैयाँ बोनसका लागि छुट्याएको छ।
यसैगरी, हिमालयन बैंकले २३ करोड १८ लाख १७ हजार, सिटिजन्स बैंक २० करोड ४२ लाख ७४ हजार, र एनआईसी एशिया बैंक २ करोड ४० लाख रुपैयाँ बोनस छुट्याएका छन्।