राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि ४५ अर्ब रुपैयाँ तान्दै

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा कायम तरलता चाप व्यवस्थापन गर्न भदौ ११ गते पुनः पैसा तान्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले २५ दिनका लागि ४५ अर्ब रुपैयाँ निक्षेप संकलन बोलकबोल उपकरणमार्फत खिच्ने तयारी गरेको छ।

निक्षेप संकलनको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्। बोलकबोल अनलाइनमार्फत आज मध्यान्ह ३ बजेसम्म सञ्चालन हुनेछ।

राष्ट्र बैंकका अनुसार बोलकबोलमा १० करोडभन्दा बढी रकमको भाग ५ करोड रुपैयाँले भाग गर्दा बाँकी निःशेष भाग कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिनेछ। निक्षेप संकलनको बाँडफाँड सबैभन्दा कम ब्याजदरलाई प्राथमिकतामा राख्दै क्रमशः गरिने छ।

उक्त निक्षेप संकलनको सावा र ब्याज असोज ५ गते भुक्तानी गरिने राष्ट्र बैंकले जानकारी दिएको छ। यस उपायले बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम राख्ने उद्देश्य राखिएको छ।