सरकारले उखु किसानलाई प्रोत्साहन र अनुदानका लागि ७५ करोड ४९ लाख ३८ हजार २४० रुपैयाँ मंगलबार निकासा गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार रकम जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुनेछ।
मन्त्रीपरिषद्को निर्णय अनुसार यसपटक उखु किसानलाई प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान उपलब्ध गराइने भएको थियो। प्राविधिक कारणले निकासा ढिलाइ भएको थियो, जसका कारण किसानहरूले काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेका थिए। अघिल्ला वर्षहरूमा किसानहरूले प्रति क्विन्टल ७० रुपैयाँ अनुदान पाउँदै आएका थिए।
उखु किसान र मन्त्रालयबीच सिहंदरवारस्थित कृषि मन्त्रालयमा वार्ता भएको छ। मन्त्रालयतर्फ कृषि विभागका उपमहानिर्देशक ललन कुमार सिंह, उपसचिव लालकुमार श्रेष्ठ, मणिरत्न अर्याल र उद्योग मन्त्रालयका प्रतिनिधि सहभागी छन्। किसानतर्फ श्यामवावु रायसहित प्रतिनिधिहरू उपस्थित छन्।
अघिल्लो निर्णय अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उपमहानिर्देशक सिंहको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरेका थिए।