जनता समाजवादी पार्टी नेपालका जिल्ला तथा मधेश प्रदेशका पदाधिकारी एवम् नेता तथा कार्यकर्ताहरुले जनकपुरधाममा बुधबारपनि विरोध प्रदर्शन गरेका छन् ।
जनकपुरधामको जनक चोकमा सडक अवरुद्ध गर्दै उनीहरुले ओली सरकार मुर्दावाद, झुठो मुद्या खारेज गर, गौर हत्याकाण्डका मुख्य योजनाकार प्रभु साहलाई कारवाही गर लगायतका नारा लगाएका छन् ।
जनता विरोधी भूमि अध्यादेशको पक्षमा जसपा नेपालले संसद्मा समर्थन नगरेपछि सरकारले षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव माथि गौर हत्याकाण्डको आरोप लगाएर फसाउन खोजेको जसपा नेपाल जनकपुरको नगर अध्यक्ष विष्णु देव साहले आरोप लगाए ।
सरकारले उपेन्द्र यादवविरुद्धको मुद्या फिर्ता नलिए अझ सशक्त आन्दोलनमा उत्रीने उनले चेतावनीसमेत दिए । उनले पुनः मधेश आन्दोलन हुन सक्ने बताए । गौर घटना जनताको प्रतिकारको नतिजा रहेको उनले बताए ।
गौरमा भएको हत्याकाण्डको अनुसन्धान अघि बढाउन न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले गत सोमबार परमादेश दिएको थियो । ०६३ चैत ७ गते रौटहटको गौरमा मधेशी जनअधिकार फोरम र माओवादीबिच एकैठाउँमा कार्यक्रम गर्ने विषयमा झडप हुँदा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।