नेपालमा ग्रिन हाइड्रोजन प्लान्ट र फ्युल सेल स्थापनाको लागी कोरियन कम्पनीले अध्ययन गर्ने सम्झौता

नेपालमा ग्रिन हाइड्रोजन प्लान्ट तथा फ्युल सेल स्थापनाका लागि लगानी बोर्ड र दक्षिण कोरियाको जी-फिलोस कम्पनी लिमिटेडकाबीच विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी गर्ने सम्बन्धमा समझदारी भएको छ।

आगामी १० महिना विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी लगानी बोर्डको कार्यालयमा पेश गर्ने समझदारी भएको लगानी बोर्डले जनाएको छ ।

उक्त समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र जी फिलोस कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गा वु पार्कले आज बिहिबार हस्ताक्षर गरेका छन्।

जी-फिलोस कम्पनीले नेपालमा सार्वजनिक-निजी साझेदारी ढाँचामा ग्रिन हाइड्रोजन तथा फ्युल सेल प्लान्ट स्थापना, विकास तथा सञ्चालनका लागि गत वैशाख १५ मा लगानी बोर्डको कार्यालयमा प्रस्ताव पेश गरेको थियो। लगानी बोर्डको ६३औं बोर्ड बैठकले उल्लिखित प्रस्तावक कम्पनीसँग समझदारी गरी सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो।

समझदारीपत्रमा हस्ताक्षरपछि नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताए योङले नेपालमा नवीकरणीय स्वच्छ ऊर्जाको प्रचुर सम्भावना रहेको र यस्ता परियोजना नेपालको दिगो विकास लक्ष्य प्राप्तीमा कोशेढुङ्गा हुने बताए।

कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, विद्युत् विकास विभागका महानिर्देशक जिवछ मण्डल,  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत,  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, ग्रिन हाइड्रोजनको अध्ययन तथा अनुसन्धानमा क्रियाशील काठमाडौं विश्वविद्यालयका अनुसन्धानकर्ता विराज सिंह थापाले नेपालमा ग्रिन हाइड्रोजनको सम्बन्धमा मौजुदा नीतिगत तथा कानूनी व्यवस्था, यसका बहुआयामिक लाभका विषयहरू तथा आगामी दिनमा यस प्रकारका ऊर्जाको उपयोगका सम्बन्धमा धारणा राखेका थिए।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यस्तो परियोजनामा प्राज्ञिक क्षेत्रको समेत महत्त्वपूर्ण भूमिका रहने र नेपालजस्तो राष्ट्रमा पुँजी तथा प्रविधिको विनिमयमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

अध्ययनपश्चात् सक्दो छिटो नेपालमा ग्रिन हाइड्रोजन प्लान्ट स्थापना हुने ज्ञवालीले बताए।