काठमाडौं । कवाड व्यवसायी संघर्ष समिति नेपालको आयोजनामा काठमाडौं केन्द्रीत आन्दोलन जारी छ । व्यवसायीहरु सबैभन्दा बढी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह(बालेन्द्र)सँग आक्रोशित देखिन्छन् ।
व्यवसायीहरू भृकुटीमण्डपमा भेला भएर शहरका विभिन्न ठाउँमा परिक्रममा गर्ने गरेका छन् । उनीहरु कमलादीस्थित महानगरको कार्यालय पुगेर नियमित धर्ना समेत दिइरहेका छन् ।महानगरले विगत दुई वर्षदेखि आफूहरूमाथि अन्यायपूर्ण ज्यादती गरेको भन्दै प्रदर्शन जारी राखेका हुन् । प्रदर्शनकारीहरूले महानगरपालिकाले बिनाकारण कुटपिट गर्ने, सामान जफत गर्ने र कवाड संकलन केन्द्रका संरचना भत्काउने जस्ता कार्य गर्दै आएको आरोप लगाएका छन् ।
महानगरको यस्तो कदमले आफ्नो व्यवसाय र जीवनयापन नै संकटमा परेको उनीहरूको गुनासो छ । उनीहरूले महानगरको निरन्तर ध्यानाकर्षण गराउने प्रयास गरिरहेका छन् ।
कवाडी व्यवसायी संघर्ष समितिका अध्यक्ष राम केवल गुप्ताले खाने भाँडो वा रोजगार बचाउन, संविधानले दिएको अधिकार खोज्न र रोजीरोटी खोस्नेविरुद्ध सडकमा उत्रिनुपर्ने बताए । आन्दोलन सुरु गरेको दुई बर्ष पूरा हुँदा पनि माग पूरा नभएको बताए । त्यस्तै उनले देशमा गरिब र श्रमिक वा मजदुरको लागि बोलिदिने कोही नभएको भन्दै भोटको लागि मात्र मजदुरहरुलाई प्रयोग गरेको बताए । गरिबले दुई बर्षदेखि दु:ख पाउँदा मेयर बालेन लुकेर बसेको उनले बताए ।
‘राजु पाण्डेले थर्काउँदा सबै चुप छन् । देशमा गरिब र श्रमिक मजदुरको लागि बोलिदिने कोही भएन । भोटका लागि मात्र मजदुरहरुलाई प्रयोग गरिरहेका छन् । हिजोको दिनमा बालेनले पनि गरिबको बोलिदिने कोही छैन भन्दै चमेलीको तेल लाएर भोट ठग्यो । आजको दिनमा गरिबले दुई बर्षदेखि दु:ख पाउँदा उहाँ कहाँ लुकेर बसिरहेका छन्,’ उनले भने । ‘महानगर प्रहरीले डोजर लगाउँछ, व्यापारीलाई कुट्छ, एकसय जना मान्छे अंगभंग भइसकेका छन् । सयौंको उठिबास लगाइएको छ,’ उनले भने,‘अहिले देशमा रोजगार नभएको बेला र कवाडी व्यवसायीका करण रोजगार पाएको बेला थप प्रोत्साहित गर्नुको साटो महानगरले झनै विगार्दै लगेको छ ।
त्यस्तै उनले कवाडी व्यवसाय हटाउने कुरा कसैको मिलोमतोमा नभई राजु पाण्डे र बालेन शाहले गर्न लगाएको आरोप लगाए । बालेनले कवाडी व्यवसायीलाई एक अर्वमा बोचिदिएको र हाल १५ करोड रुपैँया लिइसकेको आरोप समेत लगाए । उनले कवाडी व्यवसायीकार कारण असुरक्षा बढेको भए वार्ताको आब्हान गर्नुपर्ने बताए । उनले समस्याबारे बुझेर समाधान गर्नतर्फ लाग्नुपर्ने सुझाव समेत दिए ।
‘बालेन आउनु भन्दा अगाडि केहीपनि समस्या थिएन । उहाँ आएपछि यस क्षेत्रमा पैसा देखेर समस्यापनि सँगै देख्नुभएको होला तर त्यसको समाधान पनि देख्नुपर्ने थियो,’ उनले भने । ‘असुरक्षा बढेको, चोरीका घटना बढेको हो भने त हामी पटक पटक वार्ताको लागि तयार छौं । त्यहाँ हिजो समस्या थिएन भने आज किन समस्या भएको छ ? उनले प्रश्न गरे,‘यसबारे अरुलाई समस्या छैन । राजु पाण्डे र बालेनलाई मात्रै किन समस्या भइरहेको छ ?’
त्यस्तै कवाडी व्यवसायी केशव शाहले महानगरले कमाउन र गरिखान नदिएको भन्दै कमाएर खाने अवसर पाउनुपर्ने माग गरे । उनले कवाडी व्यवसायीका लागि केन्द्रीय सरकारले कुनै पहल नगरेको बताए ।‘महानगरले कमाउन वा खान दिंदैन् । साइकलहरु खोसिदिन्छन । केहि बोल्यो भने मारपिट गर्छन् । साइकल लैजान्छन् फिर्ता दिंदैनन्। हाम्रो समस्याबार न त केन्द्र सरकारले पहल गरेको छ, न त महानगरले नै,’ उनले दुखेसो पोखे ।
त्यसैगरी अर्का कवाडी व्यवसायी राम सिंहले कवाडखाना बन्द भए कवाड कहाँ बेच्ने भन्दै प्रश्न गरे । उनले यदी कवाडीवालाले कवाड नउठाए कवाड बालेन शाहले उठाउने हो ? भन्दै आक्रोश व्यक्त गरे ।