आईजीपी थापासहित दुई एआईजीलाई बिदा

३० वर्ष सेवा अवधि पूरा गरी प्रहरी महानिरीक्षक दीपक थापा तथा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय सुदीप गिरी र टेकबहादुर तामाङ सेवा निवृत्त भएका छन्।

बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले शुभकामनासहित उनीहरूलाई बिदाइ गरेका हुन्।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दिपक थापाले आफ्नो सेवा अवधिमा नेपालको संविधान र प्रचलित कानुनले प्रदान गरेको जिम्मेवारीहरूलाई पूर्ण रुपमा इमानदारी, पारदर्शी र निष्पक्षताका साथ निर्वाह गरेको बताए।

कानुनी शासनको प्रत्याभूति दिलाउने, मानव अधिकारको संरक्षण, सम्मान एवम् प्रवर्द्धन गर्ने, प्रमाणमुखी अनुसन्धानको साथै आम नागरिक र प्रहरीबीचको सम्बन्ध अझ सुदृढ बनाउन नेपाल प्रहरीको विधि र पद्धतिलाई अंगिकार गरेर सामूहिक भावना तथा भातृत्वभावका साथ जिम्मेवारी निर्वाह गरेको उनले दाबी गरे।

संगठनको संस्थागत विकासको लागि आन्तरिक सुदृढीकरण र शुद्धीकरण, प्रहरी कर्मचारीहरूको वृत्तिविकास, कल्याणकारी सेवा सुविधाको विस्तार, प्रहरी कार्यमा प्रविधिको प्रयोग, समयसापेक्ष तालिम तथा नीतिगत सुधारमार्फत संगठनलाई थप सक्षम, आधुनिक र व्यावसायिक बनाउन आफ्नो प्रयास सदैव केन्द्रित भएको थापाले बताए।

प्रहरी महानिरीक्षक थापाले नवनियुक्त महानिरीक्षकलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। नवनियुक्त प्रहरी महानिरीक्षक अत्यन्तै साहसी, निष्ठावान् र क्षमतावान् व्यक्तित्त्व रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा उनले संगठनलाई थप
नयाँ उचाई दिने विश्वास व्यक्त गरे।

संगठनको श्रीवृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई सबै प्रहरी कर्मचारीहरूबाट रचनात्मक सहयोग हुने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

प्रहरी महानिरीक्षक थापाले आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्‍याउने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानप्रति आभार प्रकट गरे।

समारोहमा प्रहरी महानिरीक्षक दीपक थापाले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्यसम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङलाई हस्तान्तरण गरेका छन्।

नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक दिपक थापालगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गरे।

सोही अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले विभिन्न आरोह अवरोहहरू पार गरी सफलतापूर्वक आफ्नो सेवा अवधि सम्पन्न गरी सेवा निवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतहरूलाई हार्दिक बधाई दिँदै सेवा निवृत्त जीवन सुखद् रहोस् भन्ने शुभकामना व्यक्त गरे।