फेसबुक, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

सरकारले फेसबुक, ट्विटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल नेपालभित्र बन्द गर्ने निर्णय गरेको छ ।

बिहीबार दिउँसो बसेको मन्त्रीपरिषद् बैठकले मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै तत्काल प्रभावमा लागू हुने गरी निर्देशन दिएको हो ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा मन्त्रालयमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्कमा नआएका सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । सरकारले दिएको सात दिनको समय बुधबार राति सकिँदा पाँच वटा मात्रै सञ्जाल—टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ सूचीकृत भएका छन् ।

यसअघि प्रतिबन्ध लगाइएपछि टेलिग्रामले सूचीकरणका लागि निवेदन दर्ता गरेको छ, जसको अध्ययन मन्त्रालयले गरिरहेको छ ।