शिक्षा प्रणाली सम्बन्धी सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐन विधेयक २०८० का प्रावधानविरुद्ध निजी विद्यालयहरु आन्दोलित हुने भएका छन् ।
मकवानपुरसहित विभिन्न निजी विद्यालय संघ–संस्थाहरूले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै उक्त विधेयकले निजी क्षेत्रलाई कमजोर पार्ने मात्र नभई शिक्षा क्षेत्रमा अव्यवस्था निम्त्याउने दाबी गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुबेदीले विधेयक कार्यान्वयन भए निजी क्षेत्रको भविष्य अन्धकारमय हुने भन्दै त्यसविरुद्ध एकताबद्ध आन्दोलन गर्नुपर्ने बताए । उनले निजी विद्यालयहरूको योगदानलाई उपेक्षा गर्दै सरकारले जबर्जस्ती नियन्त्रण गर्ने प्रयास गरेको आरोप लगाए ।
संयुक्त आन्दोलन समितिले जारी गरेको विज्ञप्तिमा निजी क्षेत्रको भूमिका अवमूल्यन गर्ने प्रयास अस्वीकार्य रहेको उल्लेख गर्दै आवश्यक परे सडकसम्म उत्रिने चेतावनी दिएको छ । विज्ञप्ति एप्पसन, एपन, हिसान, नेशनल प्याब्सन लगायतका संस्थाहरूको संयुक्त हस्ताक्षरसहित सार्वजनिक गरिएको हो ।
समितिले आगामी दिनमा हुने आन्दोलनलाई सफल बनाउन सबै शिक्षक, अभिभावक र सरोकारवालाहरूलाई एकताबद्ध रहन आह्वान गरेको छ ।