कोभिड–१९ महामारी, आर्थिक मन्दी र आयातमा सरकारले लगाएको कडाइपछि थलिएको नेपाली अटो उद्योग फेरि लयमा फर्किन थालेको छ। पछिल्ला केही महिनायता बजारमा देखिएको सुधार, उपभोक्ताको उत्साहजनक सहभागिता, नयाँ मोडल तथा ब्रान्डको प्रवेशले अटो बजारलाई पुनः जीवित बनाएको छ।
नेपालका प्रमुख ९ वटा सवारीसाधन आयात, बिक्री तथा एसेम्बलिङ कम्पनीले सन् २०२५ को पहिलो ९ महिनामै ३४ अर्ब ८३ करोड १० लाख रुपैयाँको कारोबार गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा २९.४० प्रतिशतले बढी हो। गत वर्ष यिनै कम्पनीहरूले २६ अर्ब ९१ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार गरेका थिए। यसलाई अटो उद्योगका लागि उत्साहजनक सूचक मानिएको छ।
हाल सम्पन्न दुई ठूला अटो शोले पनि बजार विस्तार र आगामी दिनमा अझै व्यापार बढ्ने अपेक्षा जगाएको छ।
गोल्छा ग्रुपको दबदबा
नेपालका अग्रणी औद्योगिक समूह गोल्छा ग्रुपका दुई कम्पनी हंसराज हुलासचन्द एन्ड कम्पनी र हुलास अटोक्राफ्टले मात्रै १७ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेका छन्।
-
हंसराज हुलासचन्द : ११ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको व्यापार, अघिल्लो वर्षभन्दा ६५.७० प्रतिशत वृद्धि।
-
हुलास अटोक्राफ्ट : ९ महिनामै ६ अर्ब ४६ करोड रुपैयाँको कारोबार।
यी कम्पनीहरूले बजाज, केटीएम, ट्रायम्फलगायत ब्रान्डको बिक्री तथा नेपालमै एसेम्बलिङ गर्दै आएका छन्।
स्याकर ट्रेडिङ
होन्डाका दुई पांग्रे सवारीसाधनका आधिकारिक विक्रेता स्याकर ट्रेडिङले ८ महिनामै ९ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। गत वर्षको सुस्त व्यापारपछि यसवर्ष पुनः तीव्र सुधार देखिएको छ।
हिमाल मोटो नेपाल
होन्डा स्कुटर नेपालमै एसेम्बल गर्ने हिमाल मोटोले ३ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। अघिल्लो वर्षको ३९ करोड ८० लाख कारोबारसँग तुलना गर्दा कम्पनीले अप्रत्याशित उचाल लिएको छ।
आइएमई मोटर्स
अशोक लेल्यान्ड ब्रान्डका कमर्सियल सवारीसाधन विक्रि गर्ने आईएमई मोटर्सले ९ महिनामै २ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। गत वर्षको तुलनामा कारोबार अझै बढ्ने कम्पनीको अपेक्षा छ।
ओम्नी मोटर्स
भारतबेन्ज ब्रान्डका हेभी कमर्सियल सवारीसाधन विक्रेता ओम्नी मोटर्सले ९.३६ प्रतिशतको वृद्धिसहित ७९ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ।
एसटीसी अटो
सिट टायरका आधिकारिक विक्रेता एसटीसी अटोले ८ महिनामै ७३ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ। दुई पांग्रे सवारीसाधनका टायरमा सबैभन्दा बढी माग देखिएको कम्पनीले जनाएको छ।
शशिला मोटर्स
विद्युतीय सवारीसाधनमा केन्द्रित शशिला मोटर्सले ९ महिनामा ५१ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ। यो अघिल्लो वर्षको तुलनामा १९.६३ प्रतिशत बढी हो। कम्पनीले हाल आयर, किटन, जेएमसी, चेरी र वान्डा ब्रान्डका विद्युतीय सवारीसाधन बिक्री गर्दै आएको छ।
बतास ट्र्याक्टर
क्याटरपिलर, गोदरेज र प्रोपेल ब्रान्डका उपकरण तथा सवारीसाधन विक्रि गर्ने बतास ट्र्याक्टरले ९ महिनामा ४४ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ४५.२४ प्रतिशत बढी हो।