नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट थप २५ अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत तान्ने भएको छ। बजारमा देखिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न केन्द्रिय बैंकले सो कदम चाल्न लागेको हो।
राष्ट्र बैंकका अनुसार भदौ २२ गते मध्यान्ह ३ बजे बोलकबोल प्रक्रियामार्फत २१ दिनका लागि निक्षेप संकलन गरिनेछ। यस अन्तर्गत बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ रहनेछ भने अधिकतम सीमा पाँच करोडको गुणकमा निर्धारण गरिएको छ।
सावाँ तथा ब्याज भुक्तानी आगामी असोज १२ गते तोकिएको छ। ब्याजदर भने बोलकबोल प्रक्रियाबाट तय हुनेछ। राष्ट्र बैंकले यसपटक बहुब्याजदरमा बहुबोलकबोल गर्न सकिने व्यवस्था मिलाएको छ।
निक्षेप संकलन उपकरणको यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्। राष्ट्र बैंकले बजारमा तरलता सन्तुलन कायम राख्न आवश्यकतानुसार यस्ता कदम चाल्ने जनाएको छ।