राष्ट्रपति पौडेलको कार्यक्रममा जेनजी प्रदर्शनले ट्राफिक प्रभावित

जेनजी प्रदर्शनका कारण काठमाडौं उपत्यकामा सवारी व्यवस्थापन प्रभावित हुन थालेको छ। राष्ट्रपति रामचन्द्र पौडेल आज भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आयोजना हुने मानव अंग प्रत्यारोपणसम्बन्धी कार्यक्रममा भाग लिन ११ बजे त्यहाँ पुग्ने कार्यक्रम छ। राष्ट्रपतिको सवारी ड्युटीमा स्ट्याण्डबाई राखिएका प्रहरी तैनाथ छन्।

राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, राष्ट्रपति भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन जान लागेका हुन्। उक्त कार्यक्रममा मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्य लाभ गरेका १५०० बिरामी र उनीहरूको पत्यारोपणमा संलग्न चिकित्सकहरूलाई सम्मान गरिनेछ। राष्ट्रपति ११ बजे गएर १२ बजे फर्किने तालिका अनुसार कार्यक्रम सम्पन्न हुने छ।

माइतीघर मण्डलाकेन्द्रित जेनजी प्रदर्शनमा सहभागीको संख्या लगातार बढ्दै गएपछि सवारी आवागमन प्रभावित हुन थालेको छ। प्रदर्शनका कारण माइतीघर–नयाँ बानेश्वर सडक खण्डलाई डाइभर्सन गर्ने तयारी ट्राफिक प्रहरीले गरेको छ।

राष्ट्रपतिको सवारीका कारण महाराजगञ्ज–रत्नपार्क सडक खण्ड पनि अस्थायी रूपमा प्रभावित हुने बताइएको छ। राष्ट्रपति १०:४५ मा शीतल निवासबाट निस्केर १५ मिनेटभित्र भृकुटीमण्डप पुग्ने कार्यक्रम तय गरिएको छ। यस अवधिभर उक्त सडकमा अन्य सवारी साधनलाई अनुमति दिइने छैन। प्रहरीका अनुसार, १५ मिनेटको सडक जामले उपत्यकाभरको ट्राफिक व्यवस्थापनमा असर पार्ने अनुमान गरिएको छ।