पूर्ण रूपमा बन्द भएको नारायणगढ मुग्लिन सडक पहिरो पन्छाउन दिनभर लाग्ने

नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत तुइनखोलाको पहिरो पन्छाउन आज दिनभर लाग्ने भएको छ ।

माथिबाट थप पहिरो खसेको अवस्थामा पहिरो पन्छाउन दिनभर लाग्ने भएको हो । यसबीचमा थप पहिरो आएमा भने समस्या हुनेछ ।

सडक डिभिजन भरतपुरले मंगलबार दिउँसो ४:५० बजेतिर गएको ठूलो पहिरोका कारण आवागमन पूर्ण रूपमा बन्द रहेको जनाएको छ । सडक डिभिजनले पहिरो पन्छाउन दिनभर लाग्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

यस सम्बन्धमा आवश्यक सूचना तथा जानकारीका लागि जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं डीएसपी री रविन्द्र खनाल (९८५५०१३९९९), जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङ (९८५५०९२२००) र सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्य (९८५५०९२२१८) लाई सम्पर्क गर्न भनिएको छ ।

गत शुक्रबार दिउँसोदेखि चितनवको इच्छाकामना गाउँपालिका ५ तुइनखोला क्षेत्रमा पहिरो खसिरहेको छ । चाडपर्वको मुखमा पहिरोले बाटो अवरुद्ध हुँदा यस सडक खण्ड भएर यात्रा गर्नेहरू समस्यामा परेका छन् ।