निर्वाचन : कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्नुपर्ने

निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने समय तोकेको छ।

आज बसेको आयोगको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको आयोगका निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

कात्तिक मसान्तसम्म मतदाता अध्यावधिक गर्ने समय तोक्ने निर्णय भएको उनले बताए ।

आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने गरी कात्तिक मसान्तसम्म नामावली संकलन र अद्यावधिक गरिने उनको भनाइ छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गर्ने म्यान्डेट पाएको छ।

निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था छ। तर सरकारले बुधबार अध्यादेश ल्याएर उक्त व्यवस्था हेरफेर गरेको छ।