सहुलियत कर्जा फेरी शुरु

सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम पुनस् सुरु गरेको छ । सरकारले उक्त कार्यक्रम पुन:  सुरु गर्न सहुलियतपूर्ण कर्जाको नयाँ कार्यविधि सहित बक्यौता करिब १० अर्ब रुपैयाँ बराबर ब्याज भुक्तानी दिएको हो ।

जेन-जी आन्दोलनका कारण झनै सरकारी तथा निजी सम्पत्ति तोडफोड र आगजनी भएपछि सरकार सहुलियतपूर्ण कर्जा फेरी सुरु गर्ने दबाबमा थियो ।

सोही अनुसार सरकारले नयाँ कार्यविधि सँगै बक्यौता सहुलियत ब्याज पनि भुक्तानी दिई फेरी सुरु गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको हो ।

नयाँ कर्जा जारी होस् भनेर नै बक्यौता ब्याज भुक्तानी गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए ।

‘सहुलियतपूर्ण कर्जा फेरी सुरु गर्न आवश्यक प्रक्रिया पूरा भएको छ,’ उनले भने, ‘अब नेपाल राष्ट्र बैंकले आफू मातहत बैंक तथा वित्तीय संस्थालाई कार्यान्वयनका लागि निर्देशन कहिलेदेखि गर्छ भन्ने हो ।’

सरकारले सहुलियतपूर्ण कर्जा दिने भनेको ब्याज भुक्तानी नदिएपछि बैंकहरूले अनौपचारिक रूपमा दुई वर्षदेखि सहुलियतपूर्ण कर्जा प्रदान गर्न रोकेका थिए । बैंकहरूले रोकेको उक्त कार्यक्रमलाई राष्ट्र बैंकले पनि मौन समर्थन गर्दै कर्जा स्वीकृत गरेको थिएन ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष साउनसम्म मात्रै ७६ अर्ब ५२ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण कर्जा उठ्न बाँकी छ ।

पुरानो कर्जामा सरकारले बैंक तथा वित्तीय संस्थालाई दिन बाँकी ९ अर्ब ८० करोड ब्याज चालु असोज पहिलो साता भुक्तानी दिएको छ ।

योसंँगै बैंक तथा वित्तीय संस्थाले अझै सरकारले करिब ३ अर्ब ब्याज बक्यौता भुक्तानी दिएको छैन ।

 

 

 

अनलाइनखबरबाट साभार