“मुस्ताङमा स्याउको बम्पर फलोट: एक अर्ब दस करोडको उत्पादन”

यस वर्ष मुस्ताङमा स्याउ उत्पादन उल्लेखनीय रूपमा बढेको छ । कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार चालु वर्ष जिल्लाभर एक अर्ब १० करोड रुपैयाँ बराबरको सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ ।

गत वर्षको तुलनामा उत्पादन र आम्दानी दुवै बढेका छन् । गत वर्ष ९१ करोड ८६ लाख ७२ हजार बराबरको सात हजार २३८ मेट्रिकटन स्याउ उत्पादन भएको थियो । यस वर्ष उत्पादनमा ३९८ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङले जानकारी दिए ।

उनका अनुसार उत्पादनको मूल्याङ्कन स्थानीय तहका कृषि शाखा, किसान र प्राविधिक टोलीद्वारा बगैंचा अनुगमन र क्रप कटिङमार्फत गरिएको हो ।

हालसम्म ८० प्रतिशत स्याउ जिल्लाबाहिर निकासी भइसकेको छ, १० प्रतिशत मुस्ताङमै खपत भएको छ र बाँकी १० प्रतिशत हार्भेस्ट हुन बाँकी छ । निकासी भएका छ हजार १०८ मेट्रिकटन स्याउबाट मात्रै ८६ करोड १८ लाख ४० हजार रुपैयाँ जिल्लामा भित्रिएको केन्द्रले जनाएको छ ।

त्यस्तै, जिल्लामै ७६३ मेट्रिकटन (११ करोड दुई लाख ३० हजार बराबर) स्याउ खपत भएको छ भने यति नै परिमाणको स्याउ अहिले पनि बगैंचामा टिपाइको प्रतीक्षामा छ ।

कुल ८९२ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएको छ, जसमा ८३२ हेक्टरमा स्थानीय जात र ६० हेक्टरमा उच्च घनत्वको हाइब्रिड स्याउ उत्पादन भइरहेको छ । यस वर्ष स्थानीय स्याउको उत्पादन ६,०६९ मेट्रिकटन (मूल्य रु ७८ करोड ८९ लाख ७० हजार) र हाइब्रिड स्याउको उत्पादन १,५६७ मेट्रिकटन (मूल्य रु ३१ करोड ३४ लाख) पुगेको छ ।

हाल स्थानीय स्याउ प्रतिकेजी रु १३० र हाइब्रिड स्याउ रु २०० मा बिक्री भइरहेको केन्द्रले जनाएको छ । उत्पादनशीलताका हिसाबले स्थानीय स्याउ प्रतिहेक्टर १०.४१ मेट्रिकटन र हाइब्रिड स्याउ प्रतिहेक्टर २६.१२ मेट्रिकटन पुगेको छ ।

यद्यपि स्थानीय स्याउको प्रतिहेक्टर उत्पादकत्व गत वर्षको तुलनामा ०.३३ मेट्रिकटनले घटेको केन्द्रका प्रमुख गुरुङले बताए । उनले भने, “हावापानी र रोग नियन्त्रणको कारण केही क्षेत्रमा उत्पादकत्व घटेको भए पनि समग्रमा उत्पादन र आम्दानी दुबै पक्ष सन्तोषजनक छन् ।”