जलाइएको संसद भवन अघिल्तिर उभिएर खुशी मनाइएको एउटा फोटो र जीतको खुशीयालीमा बनाइएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अभिनेता निश्चल बस्नेत विवादमा तानिएका छन् ।
राष्ट्रका गहना मानिने कलाकार नै विध्वंशमा सहभागी भएको, सर्वसाधारणलाई उक्साएको भन्दै सामाजिक सञ्जालमा उनका फिल्महरु बहिष्कार गर्नुपर्ने आवाज व्यापक बनाइएको छ ।
अर्कोतर्फ उनकी श्रीमती तथा नायिका स्वस्तिमा खड्का आफ्नो संस्था हामी नेपालको सदस्य रहेको सुधन गुरूङको दाबीपछि उनीपनि विरोधको घानमा मुछिएकी हुन् । सुधनको विज्ञप्ति र निश्चलको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा बस्नेत र खड्काका फिल्म बहिष्कार गर्नुपर्ने माग उठेको छ।
केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले #BoycottNischalBasnet र #BoycottSwastimaKhadka जस्ता ह्यासट्याग ट्रेन्ड गराएका छन्।
तर अभिनेता बस्नेतले भने आफू उक्त घटनासँग सम्बन्धित नरहेको स्पष्ट पारेका छन्। उनले सामाजिक सञ्जालमार्फत् केही व्यक्तिले झूटो प्रचार गरी आफ्नो प्रतिष्ठामा हानी पुर्याउने प्रयास गरेको दाबी गरेका छन् ।
प्रहरीले भने भिडियो र त्यससँग सम्बन्धित दाबीहरूको प्रारम्भिक अध्ययन भइरहेको जनाएको छ। बस्नेत हिजो बेलुकी प्रधानमन्त्री निवास, बालुवाटार पुगेको कलाकारहरुको टोलीमा पनि थिए । यसअघि उनी काठमाडौंका मेयर बालेन साहसँगै नयाँ राजनीतिक दल गठनमा सक्रिय रहेको खबर बाहिरिएको थियो ।
बालेनमाथि भदौ २३ र २४ गतेको घटनालाई विदेशीहरुको योजनाअनुसार उत्तेजित बनाएको, विध्वंशकारीलाई आगो लगाउन सहयोग पुर्याउँदै महानगरको गाडीमा मिनरल वाटर बाँडेको, सिंहदरबारलगायत राज्यका संवैधानिक निकायका भवन जलाउँदा दमकल प्रयोग नगराएको गम्भीर आरोप लागेको छ ।
तर बस्नेत दम्पत्तिले अनैतिक कार्य नगरेको स्पष्टिकरण समेत दिएका छन् ।
जनआस्थाबाट साभार
