भारतले न्यूजिल्याण्डलाई ५३ रनले पराजित गर्दै आईसीसी महिला क्रिकेट विश्वकप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ। वर्षाका कारण छोट्याइएको लिग चरणको खेलमा भारतले दमदार प्रदर्शन गर्दै जीत हात पारेको हो।
पहिले ब्याटिङ गर्दै भारतले ४९ ओभरमा ३ विकेट गुमाउँदै ३४० रनको विशाल योगफल तयार गर्यो। खेल सुरुमा ४९ ओभरमा सीमित गरिएको भए पनि पछि फेरि वर्षाका कारण घटाएर ४४ ओभरमा ३२५ रनको लक्ष्य निर्धारण गरिएको थियो।
लक्ष्य पछ्याउने क्रममा न्यूजिल्याण्डले निर्धारित ४४ ओभरमा ८ विकेट गुमाएर २७१ रन मात्र बनाउन सक्यो।
भारतका लागि ओपनर प्रतिका रावलले आक्रामक शतक प्रहार गर्दै १२२ रन बनाइन् भने स्मृति मन्धानाले उत्कृष्ट १०९ रनको साथ दिइन्। त्यसैगरी जेमिमा रोड्रिग्जले पनि ७६ रनको योगदान दिई बलियो साझेदारी तयार गरिन्।
बलिङतर्फ रेणुका सिंह ठाकुर र क्रान्ति गौडले २–२ विकेट लिएर न्यूजिल्याण्डको रन गति रोकिदिए।
यो जितसँगै भारतले अष्ट्रेलिया, इंग्ल्यान्ड र दक्षिण अफ्रिकापछि सेमिफाइनलमा प्रवेश गर्ने चौथो टोलीको रूपमा आफ्नो स्थान सुनिश्चित गरेको छ।
