सुनसरीस्थित स्वस्तिक फ्लोर मिलले व्यवसायिक उत्पादन सुरु गरेको करिब एक वर्षमै उल्लेखनीय सफलता हासिल गरेको छ। कम्पनीले स्थापना भएको छोटो अवधिमै सवा अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरी उद्योग क्षेत्रमै आफ्नो मजबुत उपस्थिति जनाएको छ।
सन् २०२३ को सेप्टेम्बरदेखि व्यावसायिक उत्पादनमा आएको स्वस्तिकले गत आर्थिक वर्षमा १ अर्ब २९ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो। यो अघिल्लो वर्षको तुलनामा ५७.२८ प्रतिशतले वृद्धि भएको हो। सन् २०२४ मा कम्पनीको कारोबार ८२ करोड ४० लाख रुपैयाँ थियो।
सन् २०२१ मा दर्ता भएको यो कम्पनीले गहुँ प्रशोधन गरी मैदा, आँटा, सुजी र चोकर उत्पादन गर्दै नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ। कम्पनीले १ केजीदेखि ५० केजीसम्मका प्याकेजमा आफ्ना उत्पादन बजारमा पठाउँदै आएको जनाएको छ।
उद्योगले वार्षिक ६ हजार ६ सय मेट्रिक टन क्षमताको मैदा मिल सञ्चालनमा ल्याएको छ। साथै, सुजी उत्पादन क्षमता २ सय ४० मेट्रिक टन र आँटा उत्पादन क्षमता ३ हजार १ सय ६० मेट्रिक टन रहेको कम्पनीको विवरणमा उल्लेख छ।
कच्चा पदार्थका रूपमा आवश्यक गहुँ कम्पनीले आन्तरिक बजारसँगै विदेशबाट समेत आयात गरी प्रशोधन गर्दै आएको छ। हाल कम्पनीमा सात जना सदस्य छन्, जसको नेतृत्व अध्यक्ष हेमन्तकुमार अग्रवालले गरिरहेका छन्।
वित्तीय पक्षमा पनि कम्पनीको अवस्था सुदृढ हुँदै गएको छ। स्वस्तिक फ्लोर मिलले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि कुल ७४ करोड ५९ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ, जसमा दीर्घकालीन कर्जा २४ करोड ५९ लाख र अल्पकालीन कर्जा ५० करोड रुपैयाँ रहेको छ।
स्थापना भएको छोटो अवधिमै देखाएको गतिशीलता र कारोबार वृद्धिले स्वस्तिक फ्लोर मिललाई नेपालको खाद्य उद्योग क्षेत्रमा एक उदाउँदो उदाहरणका रूपमा स्थापित गरेको छ।
