कुमारी बैंक लिमिटेडको नाफामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सामान्य गिरावट आएको छ। बैंकले तीन महिनामा १ अर्ब ५ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.०१ प्रतिशतले कम हो।
शुक्रबार प्रकाशित २०८२/८३ आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार, गत आवको असोज मसान्तसम्म बैंकले १ अर्ब ७ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो।
संचालन नाफा घट्यो, इम्पेयरमेन्ट बढ्यो
समिक्षा अवधिमा बैंकको संचालन नाफा ८.११ प्रतिशतले घट्दै १ अर्ब ४२ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। बैंकको इम्पेयरमेन्ट चार्ज भने उल्लेखनीय रूपमा बढेर ४ अर्ब २१ करोड ५३ लाख रुपैयाँ पुगेको छ, जसको प्रभावले खुद नाफा घटेको बैंकले जनाएको छ।
त्यसकै कारण बैंकको वितरणयोग्य नाफा ऋणात्मक ३ अर्ब ९१ करोड ९९ लाख रुपैयाँमा पुगेको छ।
ब्याज आम्दानीमा वृद्धि
नाफा घटेपनि बैंकले ब्याज आम्दानीमा सुधार देखाएको छ। खुद ब्याज आम्दानी ३.७७ प्रतिशतले बढ्दै २ अर्ब ९१ करोड २० लाख रुपैयाँ पुगेको छ। यसले बैंकको आम्दानी क्षमतामा स्थायित्व रहेको संकेत गर्छ, तर जोखिम व्यवस्थापनतर्फ सुधार आवश्यक रहेको विश्लेषकहरूको भनाइ छ।
निक्षेप घट्यो, कर्जा बढ्यो
बैंकको निक्षेप संकलन १.१६ प्रतिशतले घट्दै ३ खर्ब ६० अर्ब ४० करोड रुपैयाँमा पुगेको छ। तर, कर्जा प्रवाह ३.२५ प्रतिशतले बढेर २ खर्ब ६९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। यसबीच, खराब कर्जा (NPL) दर पनि बढ्दै ६.९८ प्रतिशत पुगेको छ — गत वर्षको सो अवधिमा यो दर ४.९६ प्रतिशत मात्र थियो।
पुँजी र जगेडा स्थिति
हाल कुमारी बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ। बैंकले जगेडा तथा कोषमा ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ राखेको छ।
प्रति सेयर सूचक
-
प्रति सेयर आम्दानी (EPS): १६.११ रुपैयाँ (गत वर्ष १६.४४ रुपैयाँ)
-
प्रति सेयर नेटवर्थ: १४५.२१ रुपैयाँ
